Sat. Sep 21st, 2024

नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या शून्य

काठमाण्डौं, २०७८ मंसिर १७ गते शुक्रबार । नेपालमा आठ महिनापछि कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या शून्य भएको छ । शुक्रबार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या शून्य भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसभन्दा अघि गत वर्षको चैत २७ गते कोरोना सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या शून्य रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार मङ्सिर १ गते एक जना, २ गते छ जना, ३ गते पाँच जना, ४ गते एक जना, ५ गते एक जना, ६ गते चार जना, ७ गते पाँच जना, ८ गते पाँच जना, ९ गते तीन जना र १० गते दुई जनाको सङ्क्रमणको कारण मृत्यु भएको थियो । त्यसैगरी ११ गते तीन जना, १२ गते दुई जना, १३ गते एक जना, १४ गते दुई जना, १५ गते तीन र १६ गते छ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयले कोरोनासम्बन्धि सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत जेठ ४ गते सबैभन्दा धेरै सङ्क्रमितको मृत्यु भएको थियो । यस दिन २४६ जनाले सङ्क्रमका कारण ज्यान गुमाउनुपरेको थियो ।

मन्त्रालयका अनुसार शुक्रबार २२३ जना सङ्क्रमित थपिएका छन् भने ३४७ जना सङ्क्रमित निको भएर घर फर्किका छन् । शुक्रबारसम्म देशभरमा छ हजार ९२१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

गोरखापत्र अनलाईनका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ७५ हजार ५६७ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म आठ लाख २२ हजार १७२ जना कोारेनाबाट सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये आठ लाख तीन हजार ७१६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेका छन् ।

त्यस्तै ११ हजार ५३५ जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमितको मृत्यु दर १.४ प्रतिशत रहेको छ ।

Facebook Comments