Mon. Dec 23rd, 2024

ओमिक्रोन भेरिअन्ट देखिएपछि अमेरिकामा यात्राका नियममा कडाइ

काठमाण्डौं, २०७८ मंसिर १७ गते शुक्रबार । अमेरिकामा ओमिक्रोन भेरिअन्टका आठ सङ्क्रमित देखिएपछि राष्ट्रपति जो बाइडनले यात्रासम्बन्धी कडा नियमहरूको घोषणा गर्नुभएको छ । तर बाइडनले आफ्नो योजनामा लकडाउन भने नपर्ने र खोपसम्बन्धी यसअघिको निर्णयमा पनि परिवर्तन नहुने बताउनु भएको छ ।

न्यू योर्क राज्यमा पाँच जनामा तथा मिनेसोटा र कोलोराडोमा अहिलेसम्म ओमिक्रोनको सङ्क्रमण एकएक जनामा देखिएको छ। अमेरिकामा बुधवार क्यालिफोर्निया राज्यमा पहिलो ओमिक्रोन सङ्क्रमण देखिएको थियो।

स्वास्थ्य अधिकारीहरूले ओमिक्रोन भेरिअन्ट देखिएका मानिसमा अहिलेसम्म सामान्य खालका लक्षणहरू देखिएको बताएका छन्। उक्त भेरिअन्ट अहिलेसम्म कम्तीमा २३ वटा देशमा देखिइसकेको छ। अति उत्परिवर्तिन ओमिक्रोन बढी सङ्क्रामक छ वा खोपले काम नगर्ने जोखिम बढी छ भन्ने अझै स्पष्ट छैन।

बिहीवार सार्वजनिक गरिएको विवरण अनुसार अब सबै अन्तर्राष्ट्रिय यात्रुले अमेरिका जानुभन्दा २४ घन्टाअघि अनिवार्य रूपमा कोभिडको परीक्षण गरेको हुनुपर्छ। यो नियम पूर्ण मात्रा खोप लगाइसकेका मानिसको हकमा पनि लागु हुन्छ।

विमान, रेल वा बसमा चढ्दा अनिवार्य रूपमा मास्क लगाउनुपर्ने नियम मार्च महिनासम्मका लागि लागु गरिएको छ। अमेरिकी सरकारले निजी बिमा कम्पनीको माध्यमबाट लाखौं मानिसलाई घरमै बसेर कोरोनाभाइरसको नि:शुल्क परीक्षण गर्ने व्यवस्था गर्न खोज्दैछ।

बिमा गरेका मानिसहरू बाहेकका हकमा भने स्वास्थ्य केन्द्र र ग्रामीण क्षेत्रमा रहेका क्लिनिकमार्फत् त्यस्तो सुविधा दिइनेछ। बीबीसी

Facebook Comments