Fri. May 17th, 2024

दक्षिण अफ्रिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा तीव्र वृद्धि

काठमाण्डौं, २०७८ मंसिर १७ गते शुक्रबार । दक्षिण अफ्रिकामा कोरोनाभाइरसको सङ्क्रमणमा तीव्र रूपमा वृद्धि भएको छ। सोमवारयतामात्रै देशभरि सङ्क्रमितको सङख्या दोबरले बढेको हो। स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनले सङ्क्रमण यसरी तीव्र रूपमा वृद्धि गरेको हुनसक्ने बताएका छन्।

यद्यपि त्यसकै कारण कति भन्ने स्पष्ट चाहिँ छैन। विगत २४ घन्टामा मात्रै आठ हजार पाँच सय नयाँ सङक्रमितको सङ्ख्या दर्ता भएको छ। अत्यधिक उत्परिवर्तित भनिएको यो नयाँ भेरिअन्ट सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको गत साता घोषणा गरिएको थियो।

अमेरिकामा पनि दक्षिण अफ्रिकाबाट फर्किएका एकजनामा ओमिक्रोनको पहिलो सङ्क्रमण देखिएको छ। ओमिक्रोन कति सङ्क्रामक छ र अहिले उपलब्ध खोप त्यसका लागि कति प्रभावकारी छ जस्ता थुप्रै विषयबारे अध्ययन भइरहेको छ।

यसैबीच, नाइजेरियामा पनि ओमिक्रोन भेरिअन्ट देखिएको छ। नाइजेरियन सेन्टर फर डिजिज कन्ट्रोलले गत साता दक्षिण अफ्रिकाबाट नाइजेरिया आएका यात्रुहरूमा उक्त भेरिअन्ट पत्ता लागेको जनाएको छ।

यो साताको सुरुमा, क्यानडा सरकारले नाइजेरियाबाट आएका दुई यात्रुमा ओमिक्रोन भेरिअन्ट पत्ता लागेको जनाएको थियो। विश्व स्वास्थ्य सङ्गठनले गत साता यो नयाँ भेरिअन्टलाई “भेरिअन्ट अफ कन्सर्न” का रूपमा वर्गीकरण गरेको थियो। बीबीसी

Facebook Comments