Mon. May 20th, 2024

नाइजेरियामा डुङ्गा पल्टँदा स्कूले बालबालिकासहित कम्तिमा २९ जनाको मृत्यु

काठमाण्डौं, २०७८ मंसिर १५ गते बुधबार । नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा डुङ्गा पल्टँदा बालबालिका सहित कम्तिमा २९ जनाको मृत्यु भएको बताइएको छ। मृत्यु हुनेमा धेरैजसो ६ वर्षदेखि १२ वर्ष सम्मका एक इस्लामिक विद्यालयका बालबालिका छन्। उनीहरू एउटा धार्मिक कार्यक्रममा सहभागी हुनका लागि यात्रा गरिरहेका थिए।

प्रहरीले उद्धार कार्य जारी रहेको जनाएको छ। जिवितै उद्धार गरिएका सात जनालाई अस्पताल पुर्याइएको छ। घटनाको कारण स्पष्ट भइसकेको छैन। विगतमा भएका यस्ता दुर्घटनाका कारक क्षमता भन्दा बढी यात्रु राखिनु र आवश्यकता अनुसार डुङ्गाको मर्मतसम्भार हुन नसक्नु रहेको बताइएको छ।

त्यस्तै यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न उचित नियमहरूको पनि अभाव छ। दुर्घटनाग्रस्त डुङ्गामा ५० भन्दा बढी यात्रु सवार रहेका जनाइएको छ। दुई हप्ता अघि छिमेकी जीगावा राज्यमा एउटा डुङ्गा पल्टँदा कम्तिमा सात महिलाको मृत्यु भएको थियो। मे महिनामा भएको त्यस्तै घटनामा केब्बी राज्यमा १०० भन्दा बढी यात्रुको मृत्यु भएको थियो।  बीबीसी

Facebook Comments