Sat. Apr 20th, 2024

नेपाल भ्रमण वर्ष २०२० को भव्य उद्घाटन समारोह

काठमाडौं, २०७६ पुष १६ गते बुधबार ।

नेपाल भ्रमण वर्ष २०२० को औपचारिक रुपमा शुभारम्भ भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको दशरथ रङ्शालमा भव्य समारोहबीच एकताको ज्योति प्रज्वलित गरी सो समारोहको शुभारम्भ गर्नुभएको हो । समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सबैको सहयोग र सहभागितामा महाअभियानका रुपमा लानु पर्नेमा जोड दिनुभयो ।


नेपालको पर्यटन र सांस्कृतिक विविधता विश्वभर चिनाउन र नेपालप्रति विदेशी पर्यटकको आकर्षण बढाउन महाअभियान सुरु गरिएको राष्ट्रपति भण्डारीले बताउनु भयो। ‘नेपालमा सगरमाथा र लुम्बिनी विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य छन्। यी गन्तव्य प्रवद्र्धन गरेर बढीभन्दा बढी पर्यटक भित्रियाउने अभियान सुरु भएको छ।’ राष्ट्रपति भण्डारीले भन्नुभयो । नयाँ गन्तव्य रुचाउनेका लागि नेपाल आकर्षक स्थल हुने भनाइ उहाँको छ। विश्व समुदायकै ध्यान तान्न भ्रमण वर्ष मनाइएको पनि राष्ट्रपति भण्डारीले बताउनु भयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विश्व समुदायलाई नेपाल घुम्न र अविस्मरणीय क्षण लिएर जान अनुरोध गर्नुभयो। भ्रमण वर्षले सबैलाई एक ठाउँमा उभ्याएको र पर्यटन समृद्धिमा दिएको प्राथमिकतासँगै राजनीतिक विभेद र असमानता अन्त्य गराएको सन्देश दिएको पनि उहाँले बताउनु भयो। उज्यालो ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नाराका साथ पर्यटनको महाअभियान सुरु भएको पनि मन्त्री भट्टराईको भनाइ छ।

नेपाल पर्यटकका लागि आफैंमा एउटा पूर्ण प्याकेज भएको मुलुक हुनाले पनि विदेशी पर्यटकलाई जति बेला जुनसुकै मौसममा पनि नेपाल आउन उहाँले आग्रह गर्नुभयो। भ्रमण वर्षको बुधबार सातै प्रदेशबाट सुभारम्भ गरिएको छ। यसलाई सरकारले राष्ट्रिय उत्सवको संज्ञा दिएको छ। यही उत्सवलाई महात्सव बनाउन पनि २० लाख पर्यटकको लक्ष्य नेपालले राखेको उल्लेख छ। भ्रमण वर्षसँगै अब सरकारले सन् २०२० देखि २०३० लाई पर्यटन दशकका रूपमा सञ्चालन गर्ने योजना पनि अगाडि सारेको छ।

कार्यक्रममा चीनका पर्यटनमन्त्री वङ सियाओफेङले नेपालको पर्यटनलाई प्राथमिकता दिएर चिनियाँ राष्ट्रपछि सी जिनफिङको नेपाल भ्रमण भएको बताउनु भयो। नेपालको पर्यटनको विकासलाई चीनले सधैँ सकारात्मक रूपमा हेरेको उहाँको भनाइ छ।

भारतका पर्यटनमन्त्री प्रह्लादसिंह पटेलले भन्नु भयो, ‘नेपाली पर्यटनले समृद्धिको अनुभूति गर्नुपर्छ। नेपालमा धेरै विदेशी पर्यटक आऊन् र यसले यो क्षेत्रको गति बढाओस् भन्ने हाम्रो पनि अपेक्षा छ।’

 उदघाटन समारोहमा विभिन्न साँस्कृतिक झलकका साथै सांगितिक कार्यक्रम प्रस्तुत गरिएको थियो । अन्नपूर्ण पोष्ट / गोरखापत्र अनलाईन

Facebook Comments