Fri. May 17th, 2024

नाकामा निगरानी र अनिवार्य पीसीआरकाे व्यवस्था गरिएकाे छ : स्वास्थ्य मन्त्रालय

चीतवन, २०७८ मंसिर १२ गते आईतबार । दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विश्वको चासोको विषय बनेको छ। विभिन्न देशले यो भेरियन्ट आफ्नो देशमा फैलिन नदिन उच्च सतर्कता अपनाउन सुरु सुरु गरिसकेका छन्।

दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको बी १. १.५२९ नाम दिएको यो भेरियन्टलाई २४ नोभेम्बरमा पहिलो पटक विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) मा रिपोर्ट गरेको थियो । डब्ल्यूएचओले २६ नोभेम्बेरमा यो भाइरसलाई ‘ओमिक्रोन भेरियन्ट’ भनेर नामकरण गरेको हो। यसलाई ‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत राखिएको छ।

ओमिक्रोन भेरियन्टको उत्परिवर्तन संख्या धेरै र पुनः संक्रमण हुने जोखिम बढिरहेको वैज्ञानिकको भनाइ छ । हालसम्म ओमिक्रोन भेरियन्ट दक्षिण अफ्रिकासहित बेल्जियम, इजरायल, बोत्स्वाना र हङकङमा फेला परिसकेको छ । यो भेरियन्टको म्युटेसन डेल्टाभन्दा खतरनाक हुन सक्ने भन्दै वैज्ञानिकले सचेत रहन आग्रहसमेत गरेका छन्। नेपालसमेत अहिलेदेखि नै सचेत हुनुपर्ने विज्ञको भनाइ छ ।

के छ मन्त्रालयको तयारी ?
नेपालमा पनि नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी सुरु गरिसकेको छ। मन्त्रालयका सह–प्रवक्ता डा.समीर अधिकारीले नयाँ भेरियन्ट नेपाल भित्रिने सम्भावना रहेको भन्दै मन्त्रालयले तयारी सुरु गरेको बताउनुभयो ।

‘नेपालमा अहिलेसम्म नयाँ भेरियन्ट पुष्टि भएको छैन तर मन्त्रालयले नेपालमा तयारी सुरु गरिसकेको छ’, डा. अधिकारीले भन्नुभयो, ‘यो भाइरस व्यक्तिबाट सर्छ, जबसम्म हामी एक ठाउँबाट अर्को मुभमेन्ट हुन्छ । यो फैलने खतरा पनि उस्तै हुन्छ। त्यसैले नेपालमा पनि नयाँ भेरियन्ट आउने जोखिम छ।’

सरकारले अहिले नेपाल प्रवेश गर्ने नाका निगरानी गर्न सुरु गरेको अधिकारीको भनाइ छ । नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रवेश गर्ने व्यक्तिले अनिवार्य पीसीआर गरेको तयारी मन्त्रालयले गरेको छ । विदेशबाट आएका नागरिकको पीसीआर रिपोर्ट पोजेटिभ आएमा तुरुन्त जिन सिक्वेन्सिङ गर्न पठाउने सहप्रवक्ता अधिकारीले बताउनुभयो ।

‘बाहिरबाट आउने मानिसको निगरानी तथा परीक्षण गर्ने काम भइराखेको छ,’ डा.अधिकारीले थप्नुभयो, ‘परीक्षण गरिएका मध्येबाट जिन सिक्वेन्सिङ गर्न निर्देशन दिएका छौँ।’

हवाई नाका र विभिन्न सीमा नाकामा हेल्थ डेस्क राखेर टेस्ट गर्ने र यदि शंकास्पद भेटिएमा क्वारेन्टिनमा राख्न निर्देशन दिइसकेको डा. अधिकारीले जनाकारी दिनुभयो। जनस्वास्थ्यका मापदण्ड पालना नभएसम्म नयाँ भेरियन्ट भित्रने जोखिम सधैँ रहने भन्दै सबैले आफ्नो तर्फबाट जनस्वास्थ्यका मापदण्ड पालन गर्नुपर्ने डा. अधिकारी सुझाव दिनुभयो। गोरखापत्र अनलाईन

Facebook Comments