Fri. May 17th, 2024

विद्यार्थीलाई कोरोना विरुद्धको खोप विद्यालयमै उपलब्ध गराउने तयारी

काठमाण्डौ, २०७८ मंसिर ७ गते मंगलबार ।  शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीलाई विद्यालयमै कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने बताउनुभएको छ ।

मंगलबार विद्यालय शिक्षाको समग्र शिक्षाको सुधारका लागि ३१ बुँदे प्राथमिकता सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सबै विद्यार्थीलाई कोभिड १९ विरुद्धको खोप प्रदान गरिने विषयलाई मन्त्री पौडेलले पहिलो प्राथमिकता दिनुभएको छ । तर, कति समयभित्रमा खोप उपलब्ध गराइसक्ने भन्ने विषयमा भने उहाँले स्पष्ट पार्नुभएको छैन ।

संघीय शिक्षा ऐनलाई सकेसम्म छिटो जारी गर्ने, शिक्षक दरबन्दी मिलान तथा स्थायी शिक्षक पदपूर्तिको लागि प्रक्रिया आरम्भ गरिने, हरेक स्थानीय तहमा न्युनतम एउटा प्राविधिक विद्यालय स्थापना गरिने विषय आफ्नो प्राथमिकतामा रहेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले बताउनुभयो ।

निजी विद्यालय सञ्चालकले कानुनमा तोकिए अनुसार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको वा नगराएको विषयमा कडा अनुगमन गरिने पनि पौडेलले बताउनुभयो ।

शिक्षक अस्पताल स्थापनाको प्रक्रिया छिटो आरम्भ गरिने, सामुदायिक विद्यालयको स्तरवृद्धिका लागि जारी गरिएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको प्रभावकारी कार्यान्वयन, शैक्षिक सुधार तथा प्रविधि विस्तारका लागि वैदेशिक लगानीलाई आकर्षण गर्ने विषय पनि आफ्नो प्राथमिकतामा रहेको उहाँको भनाइ छ ।

moe

Facebook Comments