Sun. May 12th, 2024

आइसिसी टी-२० महिला विश्वकप अन्तर्गत एसिया छनोटमा नेपालद्वारा भुटान ८ विकेटले पराजित

काठमाण्डौ, २०७८ मंसिर ७ गते मंगलबार । आइसिसी टी-२० महिला विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको छ।  युएईमा भइरहेको प्रतियोगितामा नेपालले मंगलबार भुटानलाई हराएको हो। भुटानले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले ८.३ ओभरमा २ विकेट गुमाएर पार गर्‍यो।

नेपालको जितमा सीता रानामगरले १७ रन जोड्नु भयो। उहाँले १३ बलमा २ चौका प्रहार गर्नुभयो। कप्तान रूबिना क्षेत्री १० रनमा रनआउट हुनुभयो। इन्दू बर्माले नटआउट २६ रन जोड्नु भयो । उहाँले २६ बल नै खेल्दा २ चौका हिर्काउनु भयो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भुटानले ६ विकेटको क्षतिमा ६१ रन जोड्यो। भुटानका लागि ओपनरद्वय नवाङ छोडेन १३ रन र सोनाम पाल्दनले ११ रन जोड्नु भयो। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङमा नेपालकी सीता रानामगरले ३ विकेट लिनुभयो। उहाँले ४ ओभरमा १० रन खर्चिनुभयो। करुणा भण्डारीले १ विकेट हात पार्दा भुटानका दुई ब्याटर रनआउट हुनुभयो। अब नेपालले तेस्रो खेलमा बिहीबार कुवेतसँग खेल्नेछ। छनोटको अंक तालिकामा युएई लगातार दुई जित निकालेर ४ अंक जोड्दै शीर्ष स्थानमा छ। नेपाल, भुटान र हङकङले २–२ अंक जोडेका छन्।

Facebook Comments