Fri. Sep 20th, 2024

नेपाली कांग्रेसले आज ६० वटा जिल्लाका निर्वाचन क्षेत्रमा अधिवेशन गर्ने

काठमाण्डौ, २०७८ मंसिर ६ गते सोमबार । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६० जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन सोमबार सुरु हुँदैछ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार निर्धारित कार्यतालिकाअनुसार ६० जिल्लाका १४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन सोमबार सुरु हुन लागेको हो ।

केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले १४ वटा जिल्लाको अधिवेशन सम्पन्न भइसकेको जानकारी दिनुहुँदै सोमबार ६० जिल्लाका १४८ वटा निर्वाचन क्षेत्रमा अधिवेशन हुने बताउनुभएको हो ।

संयोजक यादवले भन्नुभयो, “१३ वटा जिल्लाको प्रतिनिधि सभा क्षेत्रस्तरीय अधिवेशन सम्पन्न भइसकेको छ । गोरखा र म्याग्दीको सम्पन्न भयो, सोलुखुम्बुको अधिवेशन शनिबार सम्पन्न भयो । जुम्लाको अधिवेशन पनि आइतबार भएको छ । बाँकी रहेका १४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा सोमबारबाट अधिवेशन सुरु हुँदैछ ।”वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रको नेतृत्व चयनका लागि मतदान गर्ने छन् ।

प्रदेश सभाको परिणाम
नेपाली काँग्रेसको प्रदेश सभा निर्वाचन क्षेत्रको शुक्रबार सम्पन्न अधिवेशनबाट नेतृत्व चयनका लागि भएको मतदानको अन्तिम परिणाम आउने क्रम जारी छ । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले ६० वटामध्ये ४६ जिल्लामा नेतृत्व चयनको प्रक्रिया पूरा भएको बताउनुभयो । “शुक्रबार सम्पन्न प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ, ४६ वटा जिल्लामा नेतृत्व चयन भइसकेको छ, सात–आठवटा जिल्लामा प्रदेश ‘क’ र ‘ख’मध्ये एउटाको परिणाम आएको छ, एउटाको मतगणना जारी छ, अन्य केही जिल्लामा मतगणना चलिरहेको छ”, सचिव श्रेष्ठले भन्नुभयो ।

काठमाडौँ, भक्तपुर र ललितपुरसहित पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, उदयपुर, झापा, मोरङ, सुनसरी, सिन्धुली, काभ्रे, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, बाग्लुङ, नवलपुर, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान, दाङ, बर्दिया, रुकुम (पश्चिम), सल्यान, जाजरकोट, दैलेख, डोटी, अछाम, बैतडी, डडेल्धुरा, कञ्चनपुरलगायतका जिल्लामा शुक्रबार प्रदेश सभा अधिवेशन गरिएको थियो ।

श्रेष्ठले सोमबारसम्ममा प्रदेश सभा अधिवेशनको मतगणना भइरहेका सबै जिल्लाको परिणाम आउन सक्ने जानकारी दिनुभएको छ । गोरखापत्र अनलाईन

Facebook Comments