Fri. Sep 20th, 2024

‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ टिभी उद्घाटन कानुन विपरीत काम : प्रदीप ज्ञवाली

काठमाण्डौ, २०७८ मंसिर ५ गते आईतबार । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजन च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ उद्घाटन गरेर कानुन विपरीत काम गरेको टिप्पणी गर्नुभएको छ । पूर्व परराष्ट्रमन्त्रीसमेत रहनुभएका प्रवक्ता ज्ञवालीले नेपालको कानुनले निषेध गरेको ती टेलिभिजन च्यानल उद्घाटन गर्नुको कारण के हो भनेर प्रधानमन्त्री देउवालाई प्रश्नसमेत गर्नुभयो ।

आज आइतवार प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीले काठमाण्डाैका आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नेपालले सञ्चार माध्यममा बाह्य लगानी निषेध गरेको उल्लेख गर्दै ती कुराहरू स्वागत गर्न नसकिने स्पष्ट पार्नुभयो ।

गएकाे मङ्सिर ३ गते भारतीय योगगुरु रामदेवको स्वामित्वमा रहेको पतञ्जली कम्पनीले काठमाण्डाैमा सञ्चालनमा ल्याएको ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ नाममा दुई टेलिभिजन च्यानलको प्रधानमन्त्री देउवाले उद्घाटन गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले उद्घाटन गर्नुभएको ती दुई च्यानल कानुनसम्मत नभएको प्रवक्ता ज्ञवालीको भनाइ छ । उहाँले ती च्यानल नेपालको कानुन विपरीत राष्ट्रिय हितभन्दा फरक ढङ्गले सञ्चालनमा आएको प्रारम्भिक प्रतिक्रियासमेत दिनुभयो ।

प्रवक्ता ज्ञवालीले ती टेलिभिजन च्यानलबारे विस्तृत रूपमा छलफल गर्ने जानकारी दिनुभयो । उहाँले कानुनसम्मत, विधिसम्मत र नेपालले प्राथमिकता तय गरेको क्षेत्रमा आउने बाह्य लगानीलाई भने आफूहरूले सधैँ स्वागत गर्ने बताउनुभयो ।

यसैबीच प्रवक्ता ज्ञवालीले पार्टीको दशौँ महाधिवेशनमा नेताहरूको व्यवस्थापनका लागि विधान संशोधन गर्ने सम्भावना नरहेको बताउनुभयो । विधानको परिधिभित्र रहेर योग्य भन्दा योग्य नेताहरूलाई नेतृत्वमा चयन गर्ने उहाँको भनाइ थियो ।

प्रवक्ता ज्ञवालीले महाधिवेशनमा विधानको विषयले नेतृत्व चयनमा समस्या पारेकाले त्यसलाई समाधान गरेर अघि बढ्न पहिलो पटक पार्टीको विधान महाधिवेशन छुट्टै आयोजना गर्नुपरेको पनि स्मरण गराउनुभयो । उज्यालो अनलाईन

Facebook Comments