प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई विश्वासको मत प्राप्त
काठमाण्डौं, २०७८ मंसिर १ गते बुधबार । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेश सभाको बैठमा मुख्यमन्त्री राईले विश्वासको मत प्राप्त गर्नुभएको हो ।
बैठकमा मुख्यमन्त्री राईले ५० मत प्राप्त गर्नुभएको छ । ७९ मत खसेकोमा राईको विपक्षमा २९ मत परेको छ । एमालेका १० जना सांसद आजकाे बैठकमा उपस्थित भएनन् । ९३ सदस्य रहेको प्रदेश सभामा अहिले कायम सङ्ख्या ९२ छ ।
तत्कालीन मुख्यमन्त्री भीम आचार्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि कात्तिक १६ गते प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा नयाँ सरकार बनेको थियो । पाँच दलीय गठबन्धन सरकारमा समाजवादीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी छन् ।