Sun. May 19th, 2024

आजदेखि विद्युतीय राहदानी (इ-पासपोर्ट) जारी, सत्यमोहन जोशीलाई पहिलो इ-पासपोर्ट

काठमाण्डौं, २०७८ मंसिर १ गते बुधबार । सरकारले आजदेखि विद्युतीय राहदानी इ-पासपोर्ट जारी गरेको छ । शताब्दी पुरुष सत्यमोहन जोशीलाई एक कार्यक्रमकाबीच पहिलो इ-पासपोर्ट प्रदान गरिएको छ ।

राहदानी विभागमा आज बुधवार आयोजना गरिएको पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रम मा परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले संस्कृतिविद् जोशीलाई नेपालको पहिलो ई-पासपोर्ट प्रदान गर्नुभएको हो ।

सो समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री खड्काले सरकार अन्तर्राष्ट्रिय जगतमा नेपाली राहदानी (पासपोर्ट) को सम्मान बढाउन लागिपर्ने बताउनुभएको छ । मन्त्री खड्काले विगतका दिनमा नेपाली राहदानीका कारण नेपालीले अपमान महसुस गर्नुपरेको स्वीकार गर्दै अब सरकारले नेपाली राहदानीको सम्मान बढाउन लागिपर्ने बताउनुभएको हो । देशलाई समुन्नत बनाएर नेपालीको स्वाभिमान र सम्मानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने उहाँले बताउनुभयो ।

आजदेखि जारी भएको इ-पासपोर्ट सर्वसाधारणका लागि भने मंसिर १५ गतेबाट पूर्णरुपमा वितरण थालिने राहदानी विभागले जनाएको छ ।

राहदानी विभागको वेबसाइटमार्फत अनलाइन आवेदन भर्ने नागरिकले बुधबारदेखि नै ई-पासपोर्टको लागि औंठाछाप (बायोमेट्रिक) दिन जाने मिति र समय पाउन थालेका छन् । करिब ७० लाख मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण गरेपछि सरकारले ई-पासपोर्ट वितरण थालेको हो ।

नेपालमा सन् २०१० को डिसेम्बर २६ देखि हस्तलिखित पासपोर्टलाई हटाएर मेसिन रिडएबल पासपोर्ट (एमआरपी) लागू गरेको थियो । विश्वका विकसित मुलुकहरुले लागू गरिसकेको इ-पासपोर्ट प्रयोग गर्न थालेपछि नेपालले पनि नयाँ पासपोर्ट लागू गरेको हो ।

राहदानी विभागले ठेकदार कम्पनीसँग सम्झौता गरेको एक वर्ष नपुग्दै विद्युतीय रहादानी वितरण गर्न शुरु गर्न सक्नुलाई ऐतिहासिक भनेको छ । सन् २०२० को डिसेम्बर २० मा राहदानी विभागले फ्रान्सको ‘आईडीईएमआईए आइडेन्टी एण्ड सेक्युरिटी’सँग ई-पासपोर्ट छपाइको लागि दुई अर्ब ४८ करोड रुपैयाँमा खरिद सम्झौता गरेको थियो ।

विद्युतीय पासपोर्टमा बायोमेट्रिक सूचनाहरु ‘चिप’मा हुन्छ । यसमा हातका औंला, आँखा र अनुहारलाई कैद गर्छ । कुनै पनि व्यक्तिको पासपोर्ट हेर्ने बित्तिकै उसको बारेमा सम्पूर्ण जानकारी प्राप्त हुन्छ । व्यक्तिगत, कूटनीतिक अधिकारी, आधिकारिक, शान्ति मिसनमा जाने सुरक्षाकर्मी, ट्राभल डकुमेन्ट, अस्थायी पासपोर्ट र रेकर्ड बुक गरी सात प्रकारका विद्युतीय पासपोर्ट आउन लागेको राहदानी विभागले जनाएको छ ।

Facebook Comments