Sun. May 19th, 2024

काठमाण्डौंमा छठ पर्वको तयारी (फोटो फिचर)

काठमाण्डौं, २०७८ कात्तिक २३ गते मंगलबार । भगवान सूर्यको पूजा आराधना गरि मनाइने छठ पर्वको विशेष दिन भोली बुधबारका लागि काठमाण्डौंका विभिन्न नदी, पोखरी तथा तलाउहरुमा विशेष तयारी गरिएको छ ।

काठमाण्डौंको कमलपोखरीमा यसपटक काठमाण्डौ महानगरपालिकाले नै छठ पूजा तथा मेलाको आयोजना गरेको छ । जहाँ राष्ट्रपति विद्यादेवी भण्डारी पनि छठ पूजामा सहभागी हुनुहुनेछ ।

कमलपोखरीमा करिब नौँ बर्ष अगाडिदेखि छठ पर्वको व्यवस्थापन गर्दै आएको समितिका संयोजक राजेन्द्र सिंहले यसपाली यसको व्यवस्थापन काठमाण्डौं महानगरपालिकाले अन्तिम अवस्थामा मात्र आएर गरेको र अगाडिदेखि नै गर्दै आएको व्यवस्थापन तथा तयारीमा महानगरपालिकाले हस्तक्षेप गरेको आरोप लगाउनु भयो ।

यद्यपी कमलपोखरीमा छठ पूजा आराधना गर्न आउने श्रद्धालुहरुका लागि भने आफुहरुले पनि सक्दो सहयोग तथा व्यवस्थापनमा भुमिका निर्वाह गर्ने बताउनुभयो । त्यसैगरि, कुपण्डोल थापाथली क्षेत्रको बागमती किनारमा समेत छठ पूजा गर्नेहरुका लागि सरसफाई तथा ठाउँको व्यवस्थापन गरिएको छ ।

कुपण्डोलको वागमती नदी क्षेत्रमा गरिने छठ पूजा व्यवस्थापन समितिका संयोजक सतिस कुमार झाले चारपाँच परिवारले थापाथलीनिरको बागमती किनारामा सवैभन्दा पहिले काठमाण्डौंंमा पूजा गर्न थालनी गरेको पुजा हिजोआज दशौँ हजार जतिले यस क्षेत्रमा पुजा आराधाना साथै छठ मेला भर्न आउने बताउनु भयो । जसको लागि टेन्ट, खाना, प्राथमिक स्वास्थ्य सेवा साथै पूजा गर्ने ठाउँको लागि व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।

यसपाली काठमाडौको कमलपोखरी, थापाथली लगायतका करिब २० वटा जति नदिघाट, पोखरीहरुमा छठ मेला लाग्नेछ । यसैगरि पशुपति गुह्यश्वरी नदी किनारामा पनि भव्य रुपमा छठ पूजाको तयारी गरिएको छ । उक्त क्षेत्रको बागमती नदी किनारालाई विजुली बत्ति र फूलमालाले झकिझकाउ गरिएको छ ।

छठ पर्वको तेस्रो दिन आज व्रतालुले साँझ घरमा दूध, सक्खर र चामलले बनाइएको खीर अर्घ्य स्वरुप अर्पण गरेर खरना पर्व मनाउँछन् ।

आज दिनभरी नै निराहार उपवास बसेर साँझको समयमा पकाएको खीर भगवानलाई अर्घ्य दिइन्छ । त्यसपछि अर्घ्य स्वरुप चढाएको खीर प्रसादस्वरुप ग्रहण गर्ने चलन रहेको छ । साँझमा खीर पकाउनको लागि व्रतालुहरु बिहानैदेखि दूधको जोहोको लागि व्यस्त रहेका छन् ।

अत्यन्त निष्ठा एवम् नियमपूर्वक पाँच दिनसम्म मनाइने छठपर्व पछिल्लो समयमा सबैको साझा पर्वको रुपमा परिचित रहेको छ ।
छठ पर्व अन्तर्गत मुख्य पूजा भोलि साँझ अस्ताउँदो सूर्यलाई घरमा नियम एवम् निष्ठापूर्वक पकाएको ठकुवा, भुसुवा, मिठाइको परिकार, उखु, सुछनी, केरा लगायतका पूजासामग्री अर्घ्यस्वरुप अर्पण गरिन्छ । जसलाई सन्ध्या अर्घ्य भन्ने गरिन्छ । बिहीवार बिहान उदाउँदो सूर्यलाई पुन: बिहानको अर्घ्य दिइ छठ पर्व समापन गरिन्छ ।

छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि त्यत्तिकै छन् । वैज्ञानिक र ज्योतिष तथा चिकित्सकले पनि सूर्यतत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् । ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी पनि व्रतालुले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ ।

तस्विर : सुजन गुरूङ, गोरखापत्र, श्याम राना मगर, रे न्यूज डेली 

Facebook Comments