Fri. Sep 20th, 2024

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बहिनी शोभाराज्यलक्ष्मीबाट भाइटीका ग्रहण

काठमाण्डौं, २०७८ कात्तिक २० गते शनिबार । पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहले आफ्नी बहिनीको हातबाट तिहारको टीका लगाउनुभएको छ । पूर्व राजा शाहले भाइटीकाको शुभसाइत ११ बजेर २ मिनेटमा बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका ग्रहण गर्नुभएको हो ।

पूर्वराजा शाह टीका लगाउन कमलादीस्थित बहिनी शोभाको घर पुग्नुभएको थियो । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायू, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाउने गरिन्छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहारको मुख्य दिन आज दाजुभाईले दिदीबहिनीबाट टीका ग्रहण गरेका छन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । फोटो: न्यूज ट्वान्टी फोर

Facebook Comments