Fri. Sep 20th, 2024

हिउँद नजिकिँदै गर्दा उत्तर कोरियामा ठूलो भोकमरीको विवरण

काठमाण्डौं, २०७८ कात्तिक १९ गते शुक्रबार । उत्तर कोरियामा भोकमरी हुनेबारे कठोर चेतावनी देशभित्रै र बाहिरबाट आइरहेका छन्। देश त्यागेर दक्षिण कोरियामा रहेकाहरूले उत्तर कोरियामा रहेका आफ्ना परिवारहरूले भोकमरीको सामना गरिरहेको बताएका छन्।

हिउँद याम नजिकिँदै गर्दा धेरै जोखिममा रहेकाहरू भोकमरीबाट सबैभन्दा बढी प्रभावित हुने भन्दै चिन्ता बढेका छन्। “अनाथ बालबालिकाहरू सडकमा धेरै देखिने र भोकमरीका कारण मानिसहरूको मृत्यु भइरहेका खबर निरन्तर रूपमा आइरहेका छन्,” उत्तर कोरियामा स्रोत भएकी डेली एनकेकी प्रधानसम्पादक ली साङ योङले भन्नुभयो ।

खाद्यान्न अभावको अवस्था सोचिएभन्दा बढी खराब हुँदा “उत्तर कोरियामा निम्न वर्गीय मानिसहरू धेरैभन्दा धेरै पीडित” भएको लीले बताउनु भयो। कोभिड-१९ को सङ्क्रमणबाट जोगिन भन्दै गरिएको सीमा बन्द गत वर्षको ज्यानुअरीदेखि नै कायम छ।

दक्षिण कोरियामा रहेकालाई उत्तर कोरियामा बस्ने परिवार र साथीभाइबाट सन्देश पाउन पनि मुस्किल हुँदै गएको छ र त्यसरी सूचना लिनु पनि खतरनाक बनेको छ। अनधिकृत मोबाइल फोन लिएको पाइए त्यस्ता मानिसलाई श्रम शिविरमा पठाइने गरेको छ। तर पनि केही मानिसहरू भने चिठ्ठी वा आवाज सन्देश सोलमा रहेका आफ्ना आफन्त वा सञ्चारमाध्यमलाई पठाइरहेका छन्।

यी स्रोतहरूका माध्यमबाट त्यहाँ के भइरहेको छ भन्ने एउटा चित्रण गर्न हामीले प्रयास गरेका छौँ। बीबीसी

Facebook Comments