Sat. Sep 21st, 2024

नेपाल संवत् ११४२,नयाँ बर्ष आजदेखि शुरु

काठमाण्डौं, २०७८ कात्तिक १९ गते शुक्रबार । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल सम्बत ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्बतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ. सं. ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराउनु भएको थियो । नेपाल सम्बतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्बतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा. त्रिरत्न मानन्धर बताउनुहुन्छ ।

लिच्छविकाल अघि शक सम्बत प्रचलनमा रहेको नेपाल सम्बत लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको र नेपाल सम्बतको रुपमा पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्बतका रुपमा चलेको हुनाले नेपाल देशको नामबाट राखिएकाले उहाँले बताउनुभयो ।

वि.सं. २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो । नेपाल सम्बतलाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्बत समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै वि.सं. २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएको थियो । वि.सं. २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाल सम्बतले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो ।

Facebook Comments