काग तिहारको उपलक्ष्यमा काठमाडौंको रत्नपार्कमा काग सम्मेलन
काठमाण्डौं, २०७८ कात्तिक १७ गते बुधबार । काग तिहारको उपलक्ष्यमा काठमाडौंको रत्नपार्कमा काग सम्मेलन गरिएको छ । राष्ट्रिय सङ्गीतकर्मी सङ्घले काग तिहारका अवसरमा आज आयोजना गरेको कार्यक्रममा इलामका रमेश दुलाल ‘कागे’ ले काग बोलाएर १८ औँ काग सम्मेलनको आयोजना गर्नुभएको हो ।
विगत १८ वर्षदेखि काग तिहारको अवसरमा काग सम्मेलन गर्दै आउनुभएका दुलालले आज बिहान ६ बजेदेखि ७ बजेसम्म रत्नपार्कस्थित शान्तिवाटिकामा काग बोलाएर काग सम्मेलन गर्नुभएको हो ।
यमराजको दूतका रूपमा कागलाई मीठामीठा खानेकुरा खान दिएर तिहारको पहिलो दिन काग तिहार मनाइने गरिएको छ । काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक सुरु भएको छ ।
आजदेखि भाइटीकासम्म नेपालीले दसैँपछिको दोस्रो ठूलो पर्वका रुपमा तिहार मनाउने गर्छन् । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय मान्यता छ । यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठामीठा खान दिई खुशी पार्ने गरिएको छ । दुलालले १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्दै आउनुभएको छ ।