Fri. May 17th, 2024

छत्रपाटी निःशुल्क चिकित्सालयमा प्याथोलोजी ल्याबको सुविधा थपियो

काठमाण्डौं, २०७८ कात्तिक १३ गते शनिबार । विरामीहरुको स्वास्थ्यलाई उच्च प्रार्थमिकता दिंदै आएको काठमाण्डौं छत्रपाटीस्थित छत्रपाटी नि:शुल्क चिकित्सालय(अस्पताल) ले अत्याधुनिक प्याथोलोजी ल्याबको सुविधा थप गरेको छ । दिनप्रतिदिन महंगो हुँदै गएको स्वास्थ्य क्षेत्रलाई बिरामीहरुको उच्चतम सुविधा र उचित स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यका साथ सो चिकित्सालयको वीर गणेशमान भवनमा चिकित्सालयले सो सुविधा थप गरेको हो ।

बागमती प्रदेश सभाका सभासद वसन्त मानन्धरले आज विहान औपचारिक कार्यक्रमकाबीच उक्त ल्याबको समुद्घाटन गर्नुभएको छ । प्राप्त जानकारी अनुसार यस प्याथोलोजी ल्याबले अब बिरामीहरुको रिपोर्ट मोबाइलमा पाउने सुविधा पनि थप गरेको छ । बागमती प्रदेशको प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम २०७७/ ७८ अन्तर्गत प्राप्त भएको ५० लाख रुपैंयाको आर्थिक सहयोगबाट चिकित्सालयलेअत्याधुनिक ल्याबको सुविधा थप गरेको हो ।

समारोहमा सभासद मानन्धरले जनताले तिरेको करबाट प्राप्त भएको रकम जनताको सेवामा विनियोजित गर्ने माध्यम मात्र भएको बताउनुहुँदै आगामी दिनहरुमा स्वास्थ्य क्षेत्रमा थप बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले डेगुंदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको उपचारमा चिकित्सालयको महत्वपूर्ण भूमिका रहेको बताउनुहुँदै श्रेष्ठले कोभिडविरुद्धका खोप सर्वसाधारणहरुमा सहज रुपमा पुर्याईरहेको पनि बताउनुभयो । साथै उहाँले निम्न आय भएका नागरिकहरुका लागि स्वास्थ्य क्षेत्रमा राज्यबाट सञ्चालित मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम चिकित्सालयबाट पनि सञ्चालन गर्न इच्छुक भएको जानकारी दिनुभयो ।

क्षत्रपाटी निःशुल्क चिकित्सालय २०१३ साल माघ २३ गते १० रुपैयाँको कुल पुँजिबाट सुरु भएको नेपालको पुरानो सामुदायिक स्वास्थ्य संस्था हो । तत्कालिन सञ्चार, यातायात तथा नहर मन्त्री गणेशमान सिंहले २०१६ साल माघ २३ गते श्रीपञ्चमीका दिनमा भवन शिलान्यास गरेर भौतिक पूर्वाधारमा अघि बढेको अस्पतालले हाल दुईवटा अत्याधुनिक भवनमा सम्पूर्ण स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको छ । हुनेसँग शुल्क लिने र नहुनेसँग शुल्क नलिई सेवा गर्ने नीति लिएको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा मुटुसम्बन्धी अत्याधुनिक उपचार सेवा उपलब्ध छ भने दैनिक १०० सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट सहित अत्याधुनिक भेन्टिलेटर सुविधासमेत छ ।

Facebook Comments