नेपाल आमाको मूर्ति निर्माणका लागि धातुको अभाव हुँदै
काठमाण्डौं, २०७८ असोज ३१ गते आईतबार । कञ्चनपुरको भीमदत्त नगरपालिका-८ भम्केनीधाम (तिलाचौर) क्षेत्रमा निर्माण भइरहेको अष्टधातुको नेपाल आमाको ७५ फिट अग्लो मूर्ति निर्माणका लागि धातुको अभाव हुन थालेको छ । धातुको अभाव हुन नदिन सिद्धनाथ बैजनाथ धार्मिक तपस्थली क्षेत्र विकास समितिले घरदैलो अभियान सञ्चालन गर्ने भएको छ । समितिका अध्यक्ष कृष्णबहादुर सिंहले सुदूरपश्चिम क्षेत्रमा घरदैलो गरी धातु सङ्कलन गरिने बताउनुहुन्छ ।
“मूर्ति निर्माणका लागि १८ देखि २५ टनसम्म धातु आवश्यक पर्छ” उहाँ भन्नुहुन्छ, “समितिसँग दुई टन मात्रै धातु मौज्दात छ । त्यसले मात्र पुग्दैन ।” कैलाली, कञ्चनपुरलगायत जिल्लामा स्वयंसेवक परिचालन गरी धातु सङ्कलन गरिने र यसका लागि सबैको सहयोगको खाँचो रहेको अध्यक्ष सिंहको भनाइ छ ।
मूर्ति निर्माणका लागि ललितपुरको भ्याली कन्ट्रक्सन प्रालिले रु १० करोड ८२ लाखमा ठेक्का लिएको थियो । “निर्माण कम्पनीले मूर्ति निर्माणको कार्य गर्ने छ” अध्यक्ष सिंह भन्नुहुन्छ, “धातुको व्यवस्था भने समितिले नै गर्ने गरी सम्झौता गरिएको छ ।”
निर्माण कार्य अन्तर्गत हालसम्म प्राप्त धातुलाई कमलको आसन बनाएर ढलान गरी राखिएको र यसलाई ‘फिनिसिङ’ गर्ने कार्य भइरहेको छ । कमलको आसन निर्माणका लागि मात्रै तीन क्विन्टल भन्दा बढी धातु प्रयोग गरिएको छ । मूर्ति निर्माणका लागि चार वर्षसम्म लाग्ने बताइएको छ । समितिका अध्यक्ष सिंहका अनुसार मूर्ति निर्माणका हालसम्म लागि रु एक करोड ५० लाख भन्दाबढी खर्च भइसकेको छ ।
मूर्तिमा तामा, पितल, ढलौट, जिङक, सुनचाँदी, काँस र फलाम गरी अष्ठधातुको प्रयोग हुने निर्माण कम्पनी भ्याली कन्ट्रक्सनका सञ्चालक मनोहर महर्जन बताउनुहन्छ । “जगतगुरु बालसन्त मोहनशरण देवाचार्यको परिकल्पनानुसार मूर्ति निर्माण भइरहेको छ” उहाँ भन्नुहुन्छ, “नेपाल आमाको मूर्तिमा चक्र, खुकुरी, जपमाला, राष्ट्रिय झण्डा, पैसाको माला, नौगेडी, कानको ढुङ्ग्री, मुकुट राखिने छ । मूर्तिमा चार हातसमेत निर्माण गरिने छ ।”
“बाक्स एण्ड लस प्रविधिमा मूर्ति निर्माण भइरहेको छ” महर्जन भन्नुहुन्छ,“यो प्रविधि विशुद्ध नेपाली हो । यसमा आधारित भएर हजारौं वर्षदेखि नेपाली मौलिकताका मूर्ति निर्माण भइरहेका छन् । यसै प्रविधिमा आधारित भएर चीनको लासा र भुटानमा बुद्धका मूर्ति निर्माण गरेका छौँ । निर्माण भइरहेको नेपाल आमाको मूर्ति विश्वमै टपटेन भित्रै पर्छ ।”
आर्थिक अभाव नभएमा मूर्ति निर्माण कार्य दुई वर्षमै सक्ने निर्माण कम्पनीको जिकिर छ । मूर्ति निर्माणका लागि २५ देखि ३० टन धातु लाग्ने र निर्माणका लागि हाल सात कालिगढ कार्यरत रहेका महर्जनको भनाइ छ । मूर्ति निर्माण भइसक्दासम्म १२ हजार भन्दाबढी मजदूर आवश्यक पर्ने बताइएको छ । जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यले मूर्ति निर्माणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ । मेची–काली भ्रमणका क्रममा उहाँले धातु सङ्कलन गर्नुभएको थियो ।
देवाचार्यकै परिकल्पनानुसार उक्त मूर्ति निर्माण हुनाका साथै भम्केनीलाई धामका रुपमा विकास गर्न प्रचार प्रसारसँगै विकासका कार्य अगाडि बढाइएको छ । भम्केनीधाम क्षेत्रलाई स्थानीय बासिन्दाले सिद्धनाथ बैजनाथका रुपमा पूजाआजा गर्दै आएका छन् । महाभारतका पाँच पाण्डवले तप गरेको भूमिका रुपमा समेत यस क्षेत्रलाई चिनिने यस क्षेत्रमा पाँच कुण्ड छन् । “कुण्डको पानी कहिल्यै सुक्दैन” स्थानीयवासी नहरबहादुर धामी भन्नुहुन्छ, “पचास वर्षअघि कुण्डमा जस्तो पनी थियो । हालसम्म पनि त्यस्तै र एकनासको पानी देखिन्छ।” धाम क्षेत्रमा संस्कृत शिक्षा विस्तारका लागि गुरुकुल समेत सञ्चालन गरिएको छ । गोरखापत्र अनलाईन