Fri. Nov 22nd, 2024

अन्तिम संस्कार गर्ने बेला एकसराे कात्रो पनि छैन

बैतडी, २०७६ पुष १२ गते शनिबार ।

मुक्तिको सपना देखेर आन्दोलन र संघर्ष गरेका बैतडीका हलिया समुदायसित मर्ने बेला कात्रो किन्ने पैसा नभएर विजोक हुनुपर्दा जोकोहीको मनमा चिसो पर्नु स्वाभाविक हो । तर विजोक हेरेर बस्नुभन्दा पनि आइपरेको समस्या समाधान गर्न स्थानीयले रकम संकलन गरेर हलिया समुदायका एक मृत व्यक्तिको दाहसंस्कार गरेका छन् ।

बैतडीको दशरथ चन्द नगरपालिका–४ बाडीलेकको हलिया समुदायका प्रेम भुलको शुक्रबार निधन भयो । भुलको दाहसंस्कार गर्न घरमा कात्रो किन्ने पैसा नभएपछि उहाँकी एकल भाउजु मीरा भुललाई गाउँले र स्थानीय बजारबाट दुईहजार पाँचसय २५ रुपियाँ संकलन गरेर कात्रो किन्ने खर्च जुटाईएको थियो ।
बजारमा भारी बोकेर गुजारा गर्दै आईरहेका प्रेम भुलको मृत्यु हुँदा घरपरिवारसँग कात्रो किन्ने पैसा नभएपछि शाहीलेक बजारबाट पैसा संकलन गरेर सहयोग गरेको बजार व्यवस्थापन समितिका सदस्य सानु भण्डारीले बताउनुभयो ।

दाहसंस्कार गर्ने खर्च जुटेपछि मृतक प्रेम भुलको शुक्रबार दशरथ चन्द नगरपालिकाको महाकाली किनार नजिक शेरामा दाहसंस्कार गरिएको मृतक भुलकी एकल भाउजु मीरा भुलले बताउनुभयो ।

मीरा भुलका श्रीमान् राम भुलको १३ वर्ष अघिनै हलो जोत्दाजोत्दै विरामी परेर उपचार नपाउँदा मृत्यु भएको उहाँकी पत्नी मीरा भुलले बताउनुभयो ।

मीराले भन्नुभयो, ‘श्रीमान्ले जीवनभरी नेताहरुकै हलो जोत्नुभयो । हलो जोत्दाजोत्दै विरामी पर्दा उपचार गर्न सकेनांै र मृत्यु भयो । आज देवर प्रेम भुलको पनि मृत्यु भयो । आन्दोलन र संघर्ष गरेर श्रीमान् हलियाबाट मुक्त भए पनि मसँग हलिया मुक्तिको परिचय पत्र छैन । हलियाले पाउन सेवा सुविधा पनि अहिलेसम्म मिलेको छैन । रोजगारी पनि केही मिलेको छैन ।’
दुई छोरा मध्ये एक भारतमा मजदुरी गर्न गएको र कान्छो १५ वर्षीय छोरा निरज भुल देवरको किरियामा बसेको मीरा भुलले बताउनुभयो । बास बस्ने घर नहुँदा देवर प्रेम भुलको किरिया गर्न छिमेकीको घरको एक कोठा मागेर किरिया बस्नु परेको मीराले पीडा सुनाउनुभयो ।

पीडा सुनाउँदै मीरा भुलले भन्नुभयो, ‘हलिया मुक्त भएको १० वर्षसम्म केही मिलेन । बस्ने घर छैन । अब हामीलाई कसैले हेर्दैनन् भनेर सधैं रक्सी खाएर हिँड्थे । आज देवरले पनि छोडेर गए ।’
किरिया बसेका छोरालाई खर्च नभएको मीराले पीडा सुनाउनुभयो । मृतक देवर विरामी हुँदा ज्याला मजदुरी गर्न जान नसकेकाले घरमा अन्नको नाममा पाँच किलो पीठो मात्र रहेको मीराले बताउनुभयो ।
बैतडीको दशरथ चन्द नगरपालिका –४, बाडीलेकको हलिया बस्तीमा ९० जना हलिया मध्ये अधिकांशले हलिया मुक्तिको परिचयपत्र नपाएको मुक्त हलिया राजुराम भुलले बताउनुभयो ।
जिल्लादेखि काठमाडौंसम्म हलियाले टाउकोमा कफन बाँधेर आन्दोलन र संघर्ष गर्दा राज्यले वि.सं. २०६५ भदौ २१ गते हलिया मुक्त राष्ट्र घोषणा गरे पनि हलियाको पुनःस्थापना हुन नसकेको भुलले बताउनुभयो ।

भुलले भन्नुभयो, ‘नयाँ राज्य व्यवस्था आए पनि बैतडीको बाडीलेकको मुक्त हलिया बस्तीको पीडा फेरिएको छैन । सरकारले मुक्त हलियाका लागि नमूना बस्ती बसाल्न सकेको छैन ।’
हलिया मुक्ति समाज महासघंका पूर्व अध्यक्ष समेत रहनुभएका भुलले भन्नुभयो, ‘बैतडीमा दुईहजार २२ जना हलिया प्रमाणिकरण भए पनि एक हजार छसय हलियाले मात्र परिचयपत्र पाएका छन् । परिचयपत्र पाएका हलियाको पनि एउटै ठाउँमा बस्ती बसाल्ने गरि घरको योजना आएन । राज्यले हलियालाई दुई देखि तीन लाख रुपियाँ नगदै दिने नीतिले पनि हलियाको नमूना बस्ती बन्न सकेन ।’

सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, अछाम, बाजुरा, डोटी, कैलाली, कञ्चनपुर र कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट र हुम्ला जिल्लामा १६ हजार हलिया रहेको हलिया मुक्ति समाज महासंघले जानकारी दिएको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments