Thu. May 2nd, 2024

मङ्गल ग्रहमा जीव अवशेष खोज्ने स्थानबारे वैज्ञानिकहरू पक्का

काठमाण्डौं, २०७८ असोज २३ गते शनिबार । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको मङ्गल ग्रह मिसन पर्सिभिअरन्स सञ्चालन गरिरहेको वैज्ञानिक टोलीमा अहिले राहत महसुस गरिरहेका छन्।

उनीहरू पर्सिभिअरन्सलाई मङ्गल ग्रहमा जीवन रहेको सङ्केत खोज्न उपलब्धमध्ये उत्कृष्ट स्थानमा पठाइएकोबारे ढुक्क बनेका छन्।

‘पर्सी’ उपनामले चिनिने पर्सिभिअरन्स गत फेब्रुअरीमा जेजेरो क्रेटरमा उत्रिएको थियो र त्यसयता सो उपकरणले त्यहाँ वरपरका हजारौँ तस्बिरहरू खिचेर पृथ्वीमा पठाएको छ।

ती तस्बिरहरूको विवरण यो साता प्रकाशित साइन्स म्यागाजीनमा छापिएको एउटा वैज्ञानिक लेखको प्रमुख अंश हो। ती तस्बिरहरूले कुनै बेला पश्चिमबाट आउने नदीको पानीमा आधारित ठूलो ताल रहेको पुष्टि गरेका छन्। सो ताल आजभन्दा साढे तीन अर्ब वर्ष पहिले मङ्गल ग्रहमा रहेका थियो।

पर्सिभिअरन्सले खिचेको तस्बिरले जहाँ नदीको पानीले तालको पानीलाई भेट्थ्यो त्यहाँ नदीको पानीको बहाव कम भएर पृथ्वीमा जस्तै भूआकार बनेको देखाउँछ।

त्यस्तै वातावरणमा सूक्ष्म जीवहरू हुने हुँदा त्यहाँ तिनका रासायनिक अवशेष बाँकी रहेका हुन सक्छन्। “मानिसहरूले मलाई सोध्छन्: ‘त्यसो भए के त? हामीलाई त्यहाँ त्यस्तो भूआकार छ भन्ने पहिल्यै थाहा थिएन र?’ वास्तवमा हामीलाई त्यो थाहा थिएन। भूउपग्रहका तस्बिरहरूले त्यहाँ त्यस्तो भूआकार रहेको देखिए पनि जमिनमा नउत्रिएसम्म त्यो पक्का कुरा थिएन,” इम्पिरियल कलेज लन्डनका प्राध्यापक सञ्जीव गुप्ताले बताउनु भयो । बीबीसी

Facebook Comments