Fri. May 3rd, 2024

नेपाली कांग्रेसको महाधिवेशन २०७७ फागुन ७ देखि १० सम्म

काठमाडौं, २०७६ पुष १२ गते शनिबार ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७७ सालको फागुन ७ देखि १० गतेसम्म हुने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । गोरखापत्र अनलाईनका अनुसार बैठकले कांग्रेसको कार्यकाल २०७६ फागुन १९ गते सकिने भएकाले एक वर्ष थप्ने निर्णय गरेको जानकारी केन्द्रीय सदस्य बहादुरसिंह लामाले दिनुभयो ।

यसैगरी, जिल्ला र प्रदेशको अधिवेशन केन्द्रीय अधिवेशन हुनु दुई महिना अगाडि नै सक्नुपर्ने छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह भने अनुपस्थित रहेको थियो । सहमति जुटाउन शुक्रबार पाँच घण्टासम्म बसेको कार्यदलको बैठकमा कुनै सहमति नभएपछि संस्थापन पक्षले सो निर्णय गरेको हो ।

बैठकमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पनि अनुपस्थित हुनुहुन्थ्यो । बैठकले विभागको संख्या थप्नुका साथै नेपाल तरुण दलको कार्यकाल छ महिना थप गर्ने निर्णय पनि गरेको छ । पौडेल समूह यसअघिका बैठकमा पनि अनुपस्थित रहँदै आउनु भएको छ । केन्द्रीय कार्य समितिमा संस्थापन पक्षसँग स्पष्ट बहुमत रहेको छ ।

Facebook Comments