Fri. May 17th, 2024

अफ्रिकामा मलेरिया विरुद्धको खोप वितरण गर्न ‘ऐतिहासिक अनुमति’

काठमाण्डौं, २०७८ असोज २१ गते बिहीबार । धेरैजसो अफ्रिकी भूभागमा बालबालिकालाई एक शताब्दीको प्रयासपछि तयार भएको मलेरिया रोग विरुद्धको खोप दिन लागिएको छ।

खासगरी बालबालिका र शिशुहरूको ज्यान लिने मलेरिया हजारौँ वर्षदेखि मानवताका लागि एउटा ठूलो सङ्कटको रूपमा छ। चिकित्सा क्षेत्रकै ठूलामध्येको उपलब्धि ठानिएको यो खोपको विकासलाई मलेरियाविरुद्ध लड्ने ऐतिहासिक अभियानमा ठूलो फड्को ठानिएको छ।

आरटीएस, एस भनिने खोप ६ वर्षअघि प्रभावकारी प्रमाणित भएको थियो।

परीक्षणका रूपमा घाना, केन्या र मलावीमा वितरण गरिएपछि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले अब त्यसलाई सहारा अफ्रिका र मध्यमदेखि उच्च प्रकोप भएका अन्य क्षेत्रमा वितरण गरिने जनाएको छ।

ती तीन देशमा आठ लाख बालबालिकामा गरिएको मानव परीक्षणमा यस खोपले गम्भीर भएर अस्पताल भर्ना हुने दरलाई ३० प्रतिशतले कमी ल्याएको देखाएको थियो।

यस खोपले प्रत्येक १० जनामध्ये ४ जनालाई मलेरिया रोग लाग्नबाट जोगाउन र प्रत्येक १० जनामध्ये ३ जनालाई गम्भीर अवस्थामा पुग्नबाट बचाउने बताइएको छ। व्यापक वितरणका लागि आर्थिक सहायताको पाटो भने अझै अस्पष्ट छ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले यसलाई ‘एउटा ऐतिहासिक क्षण’ बताउनु भयो ।

उहाँले भन्नुभयो, “लामो प्रतीक्षा गरिएको बालबालिकाका लागि मलेरियाको खोप विज्ञान, बाल स्वास्थ्य र मलेरिया नियन्त्रणकै लागि लागि एउटा मुख्य उपलब्धि हो। यसले बर्सेनि दशौँ हजार मानिसको ज्यान बचाउनेछ।” बीबीसी

Facebook Comments