Sat. Apr 20th, 2024

विप्लव नेतृत्वको नेकपाको महाधिवेशन फागुनमा हुने

काठमाण्डौं, २०७८ असोज ६ गते बुधबार । नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशन फागुनमा हुने भएको छ । तनहुँस्थित पर्यटकीय नगरी बन्दीपुरमा केन्द्रीय समितिको बैठकले जनयुद्ध दिवसको अवसर पारेर महाधिवेशन गर्ने निर्णय भएको जिल्ला सहइन्चार्ज निरु थापाले जानकारी दिनुभयो ।

यसपूर्व कार्तिकसम्म जनवर्गीय सङ्गठनको राष्ट्रिय सम्मेलन गर्नेसमेत बैठकले निर्णय गरेको छ । ‘‘फागुनमा जनयुद्ध शुरु गरेको भएकोले महाधिवेशन गर्ने निर्णय भएको छ तर गते तोकिएको छैन’’ जिल्ला सहइन्चार्ज थापाले भन्नुभयो । मङ्सिर ८ गते पार्टी स्थापना दिवसको अवसरमा पार्टी पुर्नगठन गर्ने निर्णय पनि बैठकले गरेको उहाँले जानकारी दिनुभयो । भ्रष्ट्राचारका विरुद्ध भण्डाफोरको लागि सडकमा प्रर्दशन गर्ने, स्वास्थ्य सामग्री खरीदका समयमा बाहिर आएका अनिमितता घटना प्रति पनि पार्टीको गम्भीर ध्यानाकार्षण भएको उहाँले जानकारी दिनुभयो ।

प्रतिबन्ध फुकुवापछि खुला राजनीतिमा आएर पहिलोपटक केन्द्रीय समितिको बैठक तथा पाँच दिने प्रशिक्षणका क्रममा सो निर्णय भएको सो पार्टीले जनाएको छ । असोज १ गते देखि शुरु भएको बन्द प्रशिक्षण मङ्गबार राति सकिएको थियो । कार्यक्रममा केन्द्रीय समितिका ७६ सदस्य सहभागी थिए ।

Facebook Comments