Tue. Dec 24th, 2024

अनुभूति !

- कवि भवानी न्यौपाने "भावना"

काठमाण्डौं, २०७८ असोज २ गते शनिबार ।

-कवि भवानी न्यौपाने भावना

सांसारिक सुखलिप्साको टर्रो आनन्दाभूतिसँगै
ओइलाउँदैछ कोमल हृदयकुसुम
चिराचिरा मुटु सिलाउँदै
शून्य आकाशमा कल्पनातीत
मनमन्दिर निर्माण गर्दै
कारागारको बन्दी झैँ
निरसिलो हृदय बोकेर
मातृभूमिको वियोगमा भौतारिँदैछु म
थाहा छैन देश के हुने हो?

अनन्त आकाशमा पिलपिल गर्दै
रुँदैछन् नेपाली ताराहरू झोक्रिएर
भागबन्डामा देश टुक्रिँदा
सुकिरहेछन् लाली गुराँस
भक्कानिएको आँशु पिएर
अश्रुपूर्ण नयनहरूमा म अचेल
खण्डित भएको यो प्रिय देश सिलाउन
अहोरात्र खट्दैछु कलम र डायरी लिएर
मानव संवेदनाहीन बस्तीहरूमा
हिडिरहेछु हाँसको बथानमा वकुलो बनेर।
थाहा छैन देश के हुने हो?

भिन्दै किनारामा उभिएकीछु म
देशको चिन्ताले हृदयबाग सुकिरहेकोछ
यहाँ ढालिरहेछन् मातृत्व
मेट्दै गए बन्धुत्व र भातृत्व
भाइचारामा शत्रुताका पालुवा पलाउँदैछन्
स्वयं मानसरोवरमा यही पीडाले भित्र भित्रै मुटु जलिरहेछ
तितो सन्नाटाले सर्वत्र छाइरहेछ
मभित्र हृदयविदारक आवाज सुइँसुइँ फुस्किरहेछ
उभिरहेकीछु किनारमा एक्लै
सरल सौजन्यको मूर्ति बनेर
थाहा छैन देश के हुने हो?

शरदको आगमनको यो अमृत प्रहरमा !

Facebook Comments