Mon. Dec 23rd, 2024

हनुमानढोका दरबार क्षेत्रमा आजदेखि इन्द्रजात्रा सुरू

काठमाण्डौं, २०७८ असोज २ गते शनिबार । हनुमानढोका दरबार क्षेत्रमा वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा आज बिहान ६ः५१ बजे इन्द्रजात्राको लिङ्गो ठड्याइएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिनुभयो । मुख्य जात्रा आइतबार हुने भए पनि आजैदेखि विभिन्न देवीदेवताका नामका नाच शुरु हुने उहाँले बताउनुभयो । कार्यालयका मूल पुजारी देवराज अर्यालद्वारा विधिपूर्वक पूजा आराधना एवं हवन गरी शुभ साइतमा इन्द्रध्वजोत्थान गरिएको हो ।

सो अवसरमा नेपाली सेनाको शार्दुलजङ्ग गुल्म (गुरुजुको पल्टन) ले धिमे बाजासहित मङ्गल धुनको प्रस्तुति गरेको थियो । इन्द्रध्वजोत्थानसँगै आज बिहान वसन्तपुर दरबार क्षेत्रमा देवी नाच पनि प्रस्तुत गरिएको छ । आजदेखि यही असोज ८ गतेसम्म विभिन्न १९ किसिमभन्दा बढीका नाच पनि वसन्तपुर क्षेत्रमा प्रस्तुत गरिन्छ ।

एक हप्तासम्म सञ्चालन हुने येँयाः जात्रा भनिने इन्द्रजात्राको सुरुवात कसरी भयो भन्ने सन्दर्भमा उपत्यकामा प्रचलित लोककथा यसप्रकार छ। परापूर्व कालमा स्वर्गलोकका राजा इन्द्र आफ्नी आमालाई वसुन्धराको व्रत निम्ति पूजा सजाउन पारिजातको फूल खोज्दै काठमाण्डौ आएका हुन्छन् । काठमाण्डौको मरू टोलमा पारिजात फूल भेट्टाउँछन्। टिप्न लाग्दा उनलाई स्थानीयले चोर भनी नियन्त्रणमा लिन्छन् र डोरीले पाता कसेर बीच सडकमै जात्रा गर्छन् ।

त्यही दिनको सम्झनामा इन्द्रजात्रा मनाइन्छ । घर नफर्किएपछि इन्द्रको खोजीमा आएकी उनकी  आमाले  पाता कसेर राखेको देखेर बन्धनबाट मुक्त गराउन छोराको बदलामा कुहिरो दिने वाचा गर्छिन् र इन्द्रलाई फर्काएर लग्छिन्।

त्यसबेला उपत्यकाबासीहरू स्वर्गमा आ-आफ्ना मरेका आफन्तजन भेट्न लाइन लागेर उनीहरूको पछि लाग्छन् । पछि लागेकाहरूलाई छल्नको लागि कुइरो फालेको र कुइरोको धमिलो वातावरणमा उनीहरूलाई उपत्यकावासीले भेट्टाउन सकेनन् भन्ने गरिन्छ । इन्द्रजात्राको समयमा गणेश, भैरव र कुमारीको रथ परिक्रमा सकिएपछि मरुटोलबाट वर्षभरिमा मृत्यु भएका व्यक्तिका परिवारजनले शतबीज छर्दै कान्तिपुर नगरी परिक्रमा गर्छन्। त्यस्तै इन्द्रदहमा पनि मेला लाग्दछ। कुहिरोले गर्दा धानबाली समयमा पाक्छ भन्ने कथन पनि छ।

इन्द्रजात्राको सुरुवातको रूपमा इन्द्रध्वजा स्थापना गरिन्छ । पुराणअनुसार प्राचीन कालमा देवता र असुरहरु ठूलो युद्धको तयारीमा लागेका बेला देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजा गरेर इन्द्रलाई हस्तान्तरण गर्दछन् ।

इन्द्रले समातेकाले त्यस ध्वजालाई इन्द्रध्वजा भनियो भनिन्छ । देवासुर सङ्ग्राममा देवताहरूको विजय पश्चात इन्द्रध्वजाको पूजा र समारोहले निरन्तरता पायो । स्वर्गलोक र पृथ्वीमा समेत विजयको कामनाले राजाहरूले इन्द्रध्वज स्थापना गर्न थाले । आफ्नो राज्यमा सुख, समृद्धि वृद्धि गर्न इन्द्रध्वजा स्थापना गर्ने परम्परा पृथ्वीलोकमा बस्न थाल्यो भन्ने कथन छ।

इन्द्रजात्राको सुरुवात इन्द्रध्वजोत्थान गर्नको लागि काभ्रे नालाको जङ्गलमा रुख लिन जानेबाट सुरु हुन्छ । रुख लिनको लागि राज्यको प्रतिनिधि स्वरुप राजखड्ग, गुथि संस्थानका प्रतिनिधि, पुजारी र गुर्जुपल्टनसहित केन्द्रीय मानन्धर सङ्घका पदाधिकारी वन प्रस्थान गर्दछन् । इन्द्रध्वजोत्थानको लागि गरिने सम्पूर्ण कामको व्यवस्थापन केन्द्रीय मानन्धर सङ्घले गर्ने गर्दछ।

इन्द्रध्वजोत्थान गर्नका लागि यसवर्ष भाद्र २३ गते बुधवार बिहान १० बजेर ५२ मिनेटको साइतमा वन प्रस्थान गरिएको थियो भने नालाको जङ्गलमा रुख काट्नको लागि बुधवार बेलुकी ७ बजेर २७ मिनेटको  साइत जुरेको थियो।

यसरी रुख काटिएपछि ढालिएको रुखलाई भोटाहिटी पुर्याइने गरिन्छ । काभ्रेको नाला जङ्गलबाट रुखलाई भक्तपुरको सल्लाघारी, थिमि, बानेश्वर हुँदै तानेर भोटाहिटी पुर्याइने गरिन्छ। तर यसपालि काटिएको रुखलाई कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै भएको डोजरले तानेर भोटाहिटी पुर्याइएको थियो। गएका वर्षहरूमा गुथियारहरूले नालादेखि भोटाहिटीसमम तानेर पुर्याइने गरिन्थ्यो।

त्यसपछि भाद्र शुक्ल अष्टमीका दिन, इन्द्रध्वजा बनाउने रूख (यःसिं) लाई नगर प्रवेश गराइन्छ।  नगर प्रवेश भनेर भोटाहिटीमा राखिएको रुखलाई पूजा गरेर हनुमानढोकासम्म तानेर पुर्याइने गरिन्छ । यसपालि भदौ २९ गते बिहान १० बजेर ३४ मिनेटको साइतमा  नगर प्रवेश पुर्याइएको थियो।  यसरी हनुमानढोका पुर्याएको चाैथो दिन, अर्थात आजका दिन इन्द्रध्वजोत्थान गरेर इन्द्रजात्रा सुरु हुन्छ।

त्यसैदिन उपाकु वनेगु भनेर आ-आफ्नाे घरमा दलुचा भनिने झुन्ड्याएर राख्ने कलात्मक दीप स्थापनासहित पूजा गरेर वर्षभरि दिवङ्गत भएका आफन्तजनको नाममा काठमाण्डौको भित्री सहरमा रहेका देवदेवीका मूर्ति, चैत्य लगायतमा दीप राख्ने गरिन्छ । लाखे, पुलुकिसी, लगायतका देवदेवीको नाच पनि सार्वजनिक गरिन्छ।​

इन्द्रजात्रामा मरुटोलमा मरुसत्तल र सिंल्यंसत्तःको बीचमा अग्लो डबली बनाइ चार सिंहमाथि रहेको खटमा इन्द्रको मूर्तिलाई डोरीले बाँधेर राख्ने चलन छ । पारिजातको फूल र कर्कलो पृथ्वीमा लिन आएका देवराज इन्द्रलाई मालीलाई नसोधेर टिपेकोमा चोर सावित भएर डोरीले बाँधी सवैलाई देखाएको भनी मरुटोलमा इन्द्रलाई डोरीले बाँधेर राखेको मूर्ति प्रदर्शन गरिएको लोककथन छ ।

इन्द्रचोक, किलागल र नरदेवीमा पनि इन्द्रको मूर्तिलाई त्यसरी नै अग्लो डबली बनाएर प्रदर्शनमा राखिन्छ । इन्द्रजात्राकै अवसरमा मध्यरातमा इन्द्रचोकमा रहेको किराँती राजा यलम्बरको शिर भनिने आकाश भैरवको मूर्तिलाई मन्दिरको बाहिर खट बनाएर राखेर विभिन्न प्रकारका फूलले सिँगारेर पूजा गरिन्छ । साथै धिमेबाजाको तालमा प्रसादका रूपमा भैरवको मुखमा जडित नलीबाट सर्वसाधारणका लागि जाँड र रक्सीको धारा बगाउने परम्परा छ।

जात्राको तेश्रो दिन, भाद्रशुक्ल चतुर्दशीका दिन असोज ३ गते कुमारी यात्रा सुरु हुन्छ । यो इन्द्रजात्राको मुख्य दिन हो । यस दिन कुमारीसहित गणेश, भैरवको रथलाई काठमाण्डौको तल्लो टोलमा यात्रा गराउने परम्परा छ । रथहरुलाई लगन, मरुलगायतको ठाउँमा तानिन्छ।

कुमारीको रथसँगै लाखे, पुलुकिसीलगायतका देवदेवीको नाच पनि प्रदर्शन गरिन्छ ।

हलचोकको सवः भकु, भक्तपुरको महाकाली नाच, मजिपातको मजिपाः लाखे नाच, दशअवतार तथा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा किलागलको पुलुकिसी नाच नचाउने गरिन्छ।

यस्तै काठमाण्डौबाट करिब चार कोस पश्चिम पर्ने दहचोकमा रहेको इन्द्रदहको पनि मेला लाग्छ। साथै कुमारी घर अगाडि रहेको त्रिलोक नारायण मन्दिरमा विष्णुले लिएको दश अवतार देखाइन्छ । यो जात्रामा राष्ट्रप्रमुखको उपस्थिति जयप्रकाश मल्लको पालादेखि चलिआएको हो र कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले जीवित देवी कुमारीको रथ जात्रा चलाइ आफू स्वयं रथमा बसी नगर परिक्रमा गर्ने गर्दथे भन्ने लोक कथन छ।

यसैदिन बेलुकी गणेश, भैरव र कुमारीको रथ परिक्रमा सकिएपछि मरुटोलबाट वर्षभरिमा मृत्यु भएका व्यक्तिका परिवारजनले शतबीज छर्दै कान्तिपुर नगरी परिक्रमा गर्छन्। यसपछि बाैमतः निकाल्ने भनी बाँसलाई माला उनेर लामो बनाइ त्यसमा बत्ती बाली नगर परिक्रमा गराइन्छ।

त्यस्तै त्यसको भोलिपल्ट असोज ४ गते सोमवार येँयाः भनिने इन्द्रजात्राको चौथो दिन, कुमारीसहित भैरव, गणेशको रथलाई काठमाण्डौको माथिल्लो भागमा तानेर थनेयाः मनाइन्छ । रथहरूलाई वसन्तपुरबाट प्याफल, यटखा, न्हयोखा, थायमदु, असन ,केलटोल, इन्द्रचोक र मखनमा तानिन्छ।

यसैगरी जात्राको अन्तिम दिन, आश्विन कृष्ण चौथीका दिन, असोज ८ गते नानीचा यात्रा गराइन्छ । यस दिन, कुमारीको रथ महिलाहरुले तानिने गरिन्छ । केही वर्ष अघिदेखि मात्र कुमारीको रथलाई महिलाहरुले तान्न थालेका हुन्। महिलाहरुले कुमारीसहित गणेश, कुमारको रथलाई वसन्तपुर, प्याफल, नरदेवी, किलागल, भेडासिहंबाट तानेर कुमारी घरमा नै फर्काउँछन्।

यसैदिन एक हप्ताको लागि खोलिएको श्वेत भैरवको ढोका पनि बन्द गरिन्छ भने जात्राको लागि विभिन्न ठाउँबाट आएका पुलुकिसी, लाखे लगायतका देवगण पनि पूजा थापेर आआफ्नो ठाउँमा नै फर्किन्छन्। त्यस्तै यसै दिन राष्ट्रप्रमुखले  कुमारीका हातबाट टिका थाप्ने परम्परा छ ।

साथै इन्द्रध्वजपातन अर्थात् इन्द्रजात्राको लिङ्गो पनि ढालिन्छ । यस वर्ष लिङ्गो ढाल्नको लागि असोज ८ गते बेलुकी १० बजेर ३६ मिनेटको साइत निस्किएको छ । इन्द्रध्वजपातनसँगै इन्द्रजात्रा सम्पन्न हुन्छ।

इन्द्रजात्राको अवसरमा समेबजी वितरणले विशेष महत्त्व राख्दछ।

गएको वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण यी सबै धार्मिक गतिविधि स्थगित गरिएका थिए । क्षमापूजामा मात्र सीमित गरिएको थियो भने यसवर्ष यी सबै धार्मिक गतिविधि स्वास्थ्य सुरक्षाका मापदण्डसहित गरिने भएका छन्। उज्यालो अनलाईन

Facebook Comments