Sun. May 19th, 2024

फ्लोरिकल्चर एशोसिएसनमा नयाँ कार्यसमिति चयन, मीन बहादुर तामाङ नयाँ अध्यक्ष

काठमाडौं, २०७८ भदौं ३१ गते बिहीबार । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)  को  २९ औँ बार्षिक साधारणसभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । बुधबार राजधानीमा आयोजित औपचारिक कार्यक्रमबीच सम्पन्न साधारणसभाले आगामी तीन बर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

सभाले पुष्प व्यवसायी मीन बहादुर तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । तामाङले कुल १३१ मत प्राप्त गरी अध्यक्ष निर्वाचित हुनुभएको हो । अध्यक्षका अर्का प्रतिस्पर्धी रामजी प्रसाद तिमिल्सिनाले ५२ मत प्राप्त मात्र प्राप्त गर्नुभएको थियो ।

मीन बहादुर तामाङ

यसैगरी महासचिवमा विश्वमणी पोख्रेल र सचिवमा हिरामणी शर्मा लगायत निर्विरोध हुनुभएको छ भने वरिष्ठ उपाध्यक्ष पदमा १३२ मतसहित शिवबहादुर खड्का विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी प्रदिप खड्काले ४४ मत मात्रै प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उपाध्यक्षमा सिताराम पन्त विजयी हुनुभएको छ । उहाँले ९६ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी महेन्द्रबहादुर सुवेदीले ७७ मत प्राप्त गर्नु भयो ।

त्यस्तै, कोषाध्यक्षमा प्रतिस्पर्धी सुशिल खड्कालाई एक मतले पछि पार्दै ८९ मत प्राप्त गरी रामबहादुर तामाङ विजयी हुनुभएको छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि एक भन्दा बढी उम्मेदवारी परेपछि निर्वाचन गर्नुपरेको फ्यानले जनाएको छ ।

सो अवसरमा निर्वतमान कार्यसमितिका अध्यक्ष तथा सल्लाहकार कुमार कसजु श्रेष्ठले नयाँ कार्यसमितिले पुष्प क्षेत्रको विकास र पवर्द्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

सो अवसरमा व्यवसायीहरुले कोरोनाभाइरसको कारण सबैभन्दा धेरै क्षति पुष्प क्षेत्रमा भएको र सरकारले पनि पुष्प व्यवसायीहरुका लागि कुनै नीति नियम नबनाएको भन्दै गुनासो व्यक्त गरेका छन् ।

कोरोनाको दुई वर्षभित्र २५ प्रतिशत भन्दा धेरैले रोजगारी गुमाएको भन्दै व्यवसायीहरूले सरकारले पुष्प व्यवसायलाई कृषिमा राख्न माग गरेका छन् । अर्थडबली अनलाईन

Facebook Comments