Fri. Nov 15th, 2024

आगामी चैतभित्र नेपालमा उत्पादित बिजुली बङ्गलादेश पु-याउने तयारी

काठमाडौं, २०७८ भदौ ३० गते बुधबार । राष्ट्रिय प्रसारण लाइनमा जोडिएको नेपालको विद्युत् मागभन्दा उत्पादन बढी भएपछि सरकारले अन्य मुलुकमा विद्युत् विक्रीका लागि प्रक्रिया अघि बढाएको छ । यो महिनादेखि नेपालमा विद्युत उत्पादन बढेसँगै उत्पादन क्षमता १९५३ मेगावाट पुगेको छ । विद्युतको माग भने बढीमा १५ सय मेगावाट मात्र रहेकाले बाँकी रहेका ४५३ मेगावाट विद्युत् बङ्गलादेश र भारतलाई विक्रीको प्रक्रिया अघि बढाएको हो ।

माथिल्लो तामाकोशीबाट ४५६ मेगावाट उत्पादन र सोलारबाट १५ मेगावाट उत्पादन थप भएपछि हाल राष्ट्रिय प्रशारण लाइन १९५३ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्क छ । मङ्गलबार सम्पन्न नेपाल-बङ्गलादेशबीचको ऊर्जा क्षेत्रमा आपसी सहयोगसम्बन्धी सचिवस्तरीय ज्वाइन्ट स्टेरिङ कमिटिको बैठक नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की तथाबङ्गलादेशको विद्युत् उर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हविबुर रहमानको सहअध्यक्षतामा सम्पन्न भएको थियो । बैठकमा भारतीय एवं नेपाली पूर्वाधारको प्रयोग गर्ने विषयमा छलफल सकारात्मक भएकाले २०७८ चैत भित्र बङ्गलादेशमा विद्युत पु¥याउने लक्ष मन्त्रालयले राखेको उर्जा, जलस्रोत तथा सिचाँई मन्त्रालय प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिनुभयो ।

बङ्गलादेशले तत्काल २०० मेगावाट विद्युत खरिद गर्ने भने पनि सन् २०४१ सम्ममा ९०० मेगावाट विद्युत खरिद गर्ने लक्ष राखेको प्रवक्ता भेटुवालले जानकारी दिनुभयो । हामीले चैतसम्ममा २०० मेगावाट विद्युत वंगलादेश पु¥याउने प्रक्रिया अघि बढाएका छौ । बैंठकको निर्णयसँगै पहिलो चरणमा नेपाल बङ्गलादेशबीच प्रसारण लाइन निर्माण गर्ने सम्बन्धमा नेपाल, बङ्गलादेश र भारतबीच त्रिपक्षीय बैठकमार्फत सहमति जुटाई डेडिकेटेड अन्तरदेशीय प्रशारण लाइन विस्तारको काम अगाडि बढाइने मन्त्रालयको तयारी छ ।

नेपाल-भारत दुवै पक्षले समीकरण जरुरी ठानेसँगै भारतले क्रस बोर्डर गाइडलाइन बनाउन शुरु गरिसकेको मन्त्रालयले जनाएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालकाे खाडीको प्रयास (बिमिस्टेक), एक अर्कालाई सहयोग गर्ने गरी निर्माण भएको सार्कको अवधारणा समेतमा सहमति भएकाले विद्युत विस्तार लाइनमा भारतले सहयोग गर्ने अपेक्षा मन्त्रालयको छ । सन् २०१५ देखि नेपाल-भारत बैठक बस्दैआएको र विभिन्न चरणमा नेपालको स्रोत अन्य देशलाई विक्री गर्ने विषयमा भारतसँग छलफल भएर समझदारी भइसकेको समेत प्रवक्ता भेटुवालले जानकारी दिनुभयो ।

नेपाल-बङ्गलादेशबीच उर्जा क्षेत्रमा आपसी सहयोग गर्नेबारे २०७५ साउन २५ गते साझेदारीपत्रमा हस्ताक्षर भएको थियो । मङ्गलबार सम्पन्न बैठकले नेपाल र बङ्गलादेशबीच विद्युत व्यापार, नेपालको जलविद्युत विकासमा बङ्गलादेशको सरकारी तथा निजी लगानी, नेपाल र बङ्गलादेशबीच अन्तरदेशीय विद्युत प्रसारण लाइन, माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट बंगलादेशले आयात गर्ने ५०० मेगावाट विद्युतको खरिदका लागि भएको प्रगतिबारे छलफल भएको मन्त्रालयका प्रवक्ता भेटुवालले जानकारी दिनुभयो ।

बैठकले भदौ २८ गते सहसचिवस्तरीय जोइन्ट वर्किङ ग्रुपको बैठक सचिवस्तरीय बैठककालागि सिफारिस गरेका विषयहरु अनुमोदन समेत गरेको थियो । नेपाल र बङ्गलादेशबीच विद्युत व्यापारको आवश्यक तयारीका लागि नेपालको तर्फबाट नेपाल विद्युत प्राधिकरण र बंगलादेशको तर्फबाट बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डलाई आवश्यक प्रक्रिया अघि बढाउने जिम्मेवारी बैठकले दिएको छ । जलविद्युत क्षेत्रमा सहकार्यको लागि नेपालबाट प्रस्तावित सम्भावित पाँचवटा जलविद्युत आयोजनाहरुमध्ये पहिलो चरणमा सुनकोशी-३ जलासय आयोजना (६८३ मेगा) त्यसपछि खिम्ती सिवालय (६०० मेगा) जलविद्युत आयोजना अगाडि बढाउने सहमति भएको छ ।

भारत र बङ्गलादेशमा नेपालको अवस्थाभन्दा ठीक विपरीत विद्युतको माग हुनेगरेकाले विद्युत आदानप्रदानमा सहज हुने भएको छ । नेपालमा वर्षायाममा विद्युत उत्पादन बढी हुने र भारत र बङ्गलादेशमा माग बढी हुने गर्छ । हिउँदमा भारत र बङ्गलादेशमा माग कम हुने र नेपालमा उत्पादन कम हुनेगर्छ । गोरखापत्र अनलाईन

Facebook Comments