Mon. Dec 23rd, 2024

राष्ट्रपति हत्याबारे अनुसन्धानकाबीच हेइटीका प्रधानमन्त्रीलाई देश छाड्नमा रोक

काठमाडौं, २०७८ भदौ ३० गते बुधबार ।  हेइटीमा जुलाई पहिलो साता राष्ट्रपति जोभनेल मोइजको हत्यामा संलग्न रहेको हुनसक्ने विषयबारे भइरहेको अनुसन्धानकाबीच प्रधानमन्त्री एरिअल आङ्ग्रीलाई देश छाड्नमा रोक लगाइएको छ।

एकजना अभियोजनकर्ताले आङ्ग्रीविरुद्ध अभियोग लगाउन खोजिरहेका छन्। उहाँलाई हत्याका मुख्य सन्दिग्ध जोसेप फेलिक्स बाडिओसँगको सम्बन्ध स्पष्ट पार्न भनिएको छ।

रेकर्डहरूका अनुसार ती दुईबीच हत्यापछि पटक-पटक टेलिफोन संवाद भएको देखिएको अभियोजनकर्ताहरूले बताएका छन्।

मोइजलाई गत जुलाई ७ तारिखमा आफ्नै निवासमा बन्दुकधारीहरूले आक्रमण गरेका थिए।

उहाँको मृत्युले हेइटीमा राजनीतिक सङ्कट निम्त्यायो जुन एक महिनाअघि दक्षिणी भागमा गएको ठूलो भूकम्पका कारण झनै बढ्यो।

सोमवार आङ्ग्रीले एउटा पत्रमार्फत प्रमुख अभियोजनकर्ता बेड-फोर्ड क्लोडलाई “गम्भीर प्रशासनिक गल्ती” गरेको आरोप लगाउँदै पदबाट बर्खास्त गर्नुभयो ।

पछि उहाँले अर्का व्यक्तिलाई त्यो पदमा नियुक्त गर्नुभयो। तर मङ्गलवार क्लोडले प्रमुख अभियोजनकर्ताकै रूपमा काम गर्नुभयो ।

उहाँले मोइजको हत्याको मुद्दा हेरिरहेका न्यायाधीशसँग प्रधानमन्त्रीलाई घटनाको “सन्दिग्ध” का रूपमा अभियोग लगाउन आग्रह गर्नुभयो ।

हेइटीबारे जानकारहरूका अनुसार प्रधानमन्त्रीसँग अभियोजनकर्तालाई पदमुक्त गर्ने अधिकार छैन।

कैयौँ धम्कीका कारण हेइटीको न्याय मन्त्रालयले क्लोडलाई थप सुरक्षाकर्मी उपलब्ध गराउन निर्देशन दिएको छ। बीबीसी

Facebook Comments