Sat. Sep 21st, 2024

राष्ट्रिय सहमतीमा एमसीसी सम्झौता पास गर्नुपर्छ : डा.भट्टराई

काठमाडौं, २०७८ भदौ २८ गते सोमबार । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राष्ट्रिय सहमतीका आधारमा एमसीसी सम्झौता गर्नु पर्ने बताउनु भएको छ ।

सोमबार गृह जिल्ला गोरखाका पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले एमसीसी एउटा अनुदान सम्झौता मात्र भएको दाबी गर्नु भयो । ‘यो अनुदान सहयोग सम्झौता हो । अन्य देशमा पनि यो सम्झौता भएको छ,’ उहाँले भन्नुभयो, ‘सबै राजनितिक दलहरुले छिटो भन्दा छिटो भन्दा छिटो सहमती गरेर यो सम्झौतालाई अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुन्छ ।’

नेपालमा भारत, अमेरिका र चीन समेतको त्रिपक्षीय सामरिक द्वन्द्व मडारिदै गएको भन्दै एमसीसी सम्झौता नगरेर अमेरिकालाई टाढा राख्दा झनै जोखिम बढ्न सक्ने तर्क गर्नु भयो । एमसीसी अन्य अनुदान जस्तै भएपनि संसदको साधारण बहुमतले अनुमोदन गर्ने कुरा मात्र त्यहाँ उलेख्ख भएको उहाँले बताउनुभयो । ‘यो गिजोलिएर जनस्तरसम्म एक ढङ्गको भ्रम र कित्ताबन्दी हुन पुगेको छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले राष्ट्रिय सहमतीमै यो टुंगो लागोस्, एमसीसी सम्झौता चाँही राष्ट्रिय हितमा हुने गरी नै यसलाई अघि बढाउनु उपर्युक्त हुन्छ ।’

केही समय अघि आएको एमसीसीको टोलीले आवश्यक छलफल गरी सबै कुरा प्रष्ट पारिसकेको जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष समेत रहनु भएका डाक्टर भट्टराईले बताउनुभयो । नेपालका राजनीतिक शक्तिहरु राष्ट्रिय मुद्दामा एक हुन नसक्दा अहिलेको परिणाम आएको उहाँको भनाई छ । ‘हाम्रोमा यहाँ सरकारमा छँदा एउटा कुरा, सरकारबाट बाहिर गएपछि अर्को कुरा गर्ने हाम्रो जुन प्रवृति छ,’ डाक्टर भट्टराईले भन्नुभयो,‘केही हाम्रा कम्युनिष्ट साथीहरुको पुरानो धङधङ्गी छ, त्यो यसमा प्रतिबन्द्धित हुन पुग्यो । राजनीतिक द्वन्द्वको बाच्छिटा पनि त्यहाँ प¥यो ।’

गठबन्धनको सरकारले कहिले पूर्णता पाउँछ त ? भन्ने पत्रकारहरुको जिज्ञासामा उहाँले दल विभाजन सम्बन्धी अध्यादेशको कुरा टुंगिने बित्तिकै सरकार बिस्तार हुने बताउनुभयो । नेकपा एमालेले संसदमा देखाएको चरित्र अराजक भएको उहाँको टिप्पणी छ । ‘जसलाई त्यहीँ संसद नचाहिएर र दुई पटकसम्म बिगठन ग¥यो । उसले संसदमा यो आचारण देखाउनु शोभनीय छैन,’ डा. भट्टराईले भन्नुभयो, ‘संसदीय मूल्य र मान्यता कसैले पनि भुल्नु हुँदैन ।’ गोरखापत्र अनलाईन

Facebook Comments