Fri. May 17th, 2024

प्रहरी अनुसन्धान हत्याराको नजिक, भाेलि सार्वजनिक गरिने

- संखुवासभा छजना हत्या प्रकरण

काठमाडौं, २०७८ भदौ २६ गते शनिबार । एकै परिवारका छ जनाको सामुहिक हत्या गरिएको मादी हत्या काण्डको अनुसन्धानकर्षमा पुगेको प्रहरीले जनाएको छ । संकास्पद एक जनालाई केन्द्रविन्दुमा राखेर गरिएको अनुसन्धानबाट हत्यामा संलग्न पत्ता लागेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले जनाएको हो ।

घटनामा संलग्नलाई भोलि (आईतबार) चैनपुर ईलाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएस्पी लालध्वज सुवेदीले जानकारी दिनुभयो । अनुसन्धानको क्रममा गाउँकै एक जना हत्यामा संलग्न रहेको पाईएको डिस्पी सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘घटनामा संलग्नलाई नियन्त्रणमा लिईसकेका छौ, भोलि विहान १० बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौ ।’

अनुसन्धानको क्रममा संकास्पद केहि ब्यक्तिहरुको डिएनए परीक्षण गरिएको थियो । यसरी परीक्षण गरिएको मध्ये नै हत्यामा संलग्न रहेको पाईएको प्रहरीले जनाएको हो । घटना पछि अनुसन्धानका लागि प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसी नेतृत्वको प्रहरी टोली, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली, सङ्घीय इकाई प्रहरी कार्यालय धरानको टोली र जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट डिस्पी लालध्वज सुवेदीको टोलीले अनुसन्धान गर्दै आएको छ ।

गत सोमबार राती मादि नगरपालिका १ उम्लिङमा तेजबहादुर कार्कीको परिवारका ६ जनाको हत्या गरिएको थियो । भदौ २१ गते सोमबार बिहान खोला गाउँका तेजबहादुर कार्कीको परिबारका छ जनाको हत्या भएको थियो । घरमा रहेका सात जनामध्ये ८५ वर्षीय बौद्धमान कार्की भने सकुशल भेटिएका थिए । घटनामा बौद्धमानका छोरा ५८ वर्षीया तेजबहादुर कार्की, उनकी श्रीमती ८० वर्षीया पार्वती कार्की, बुहारी ५६ वर्षीया मनमाया (कमला) कार्की, नातिनी बुहारी २८ वर्षीया रञ्जना कार्की, पनाती १० वर्षीय दिपेन कार्की र पनातिनी ५ वर्षीया गोमा कार्की मृत अवस्थामा भेटिएको थियो ।

सो घटनाको अनुसन्धानका लागि प्रदेश १ का प्रहरी प्रमुख अरुणकुमार बिसीसहित संघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक दाहाल, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रनाउ रुगम बहादुर कुँवर लगायत प्रदेश प्रहरी कार्यालयस्थित रिजनल इनभेष्टिगेसन टिम, संघीय प्रहरी इकाई कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरको टालीले घटनाको अनुसन्धानलाई अगाडि बढाएका छन् । गोरखापत्र अनलाईन

Facebook Comments