हिमाल आरोहण गर्न १९२ विदेशीले लिए अनुमति
मनास्लु हिमाल । फाइल फोटो
काठमाडौं, २०७८ भदौ २६ गते शनिबार । शरद ॠतुमा ८१६३ मिटरको मनास्लु हिमाल आरोहणका लागि एक सय ७० जनासहित १९२ ले अनुमति लिएका छन् ।
पर्यटन विभागले बुधबार जारी गरेको सूचना अनुसार १७ आरोहण समूहका १ सय ७० जनाले अनुमति लिएका हुन् । जस्मा एक सय ३२ जना पुरुष र ३८ जना महिला रहेका छन् ।
यसैगरी ८१६७ मिटरको धौलागिरिका लागि १४ जना पुरुष र ५ जना महिला रहेका छन् भने ८५८६ मिटरको कन्चनजङ्गाका लागि कुल ३ जनाले अनुमति लिएकोमा २ पुरुष र १ महिला छन् । यो अवधीमा हिमाल आरोहणबाट प्राप्त हुन राजस्व दस्तुर वापत एक करोड ७५ लाख २३ हजार रुपैयाँ संकलन भएको पर्यटन विभागले जनाएको छ ।
आरोहण अनुमति प्राप्त गरेका आरोहीसहितको टोलीको व्रिफिङ पूरा गरेर आरोहणका लागि प्रस्थान गरेको विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताउनु भयो । उहाँले भन्नुभयो,, “मनास्लु आरोहणका लागि अनुमति लिने आरोहीको संख्या उल्लेख्य छ, त्यस्तै कञ्चनजङ्गा तथा धौलागिरिका लागि पनि अनुमति लिएका छन् ।”
अबको करिब १५ दिनपछि आमादब्लमको पनि अनुमति प्रदान गर्ने विभागले जनाएको छ । हिमाल आरोहणका लागि बढीमा १५ जनाको समूह बनाउन पाउने कानूनी व्यवस्था रहेको विभागले जनाएको छ । गत वर्ष ११ समूहले आरोहण अनुमति लिएका थिए ।
अटम सिजनमा ८ हजार माथिका हिमाल आरोहण गर्न विदेशी नागरिकले प्रतिव्यक्ति ९ सय अमेरिकी डलर र नेपालीको हकमा भने ५ हजार रुपैयाँ सलामी राजस्व बुझाउनुपर्ने व्यवस्था छ । जारी सिजनका आरोहीहरु सबै विदेशी नागरिक रहेको विभागका शाखा अधिकृत भीष्मराज भट्टराईले बताउनु भयो । कारोवार अनलाईन

