Tue. Dec 24th, 2024

काठमाडौं-नयाँ दिल्लीको उडान संख्या बढाउन दुई विमान कम्पनीलाई अनुमति

काठमाण्डौं, २०७८ भदौं १७ गते बिहीबार । सरकारले काठमाडौं-नयाँ दिल्लीको उडान संख्या बढाउन दुई विमान कम्पनीलाई अनुमति दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगम तथा एयर इन्डियालाई प्रत्येक दिन उडान गर्न अनुमति दिएको हो । यो रुटमा अब सातामा १४ वटा उडान हुनेछन् ।

नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुसार हाल दुई देशका सरकारी विमान कम्पनीले मात्रै एक अर्को देशमा उडान गरिरहेका छन् । सम्झौतामा निजी कम्पनीहरूलाई उडानको अनुमति दिने उल्लेख छैन । सम्झौता अझै कायमै रहेकोले निजी कम्पनीले कहिलेदेखि उडान गर्न पाउँछन् भन्ने यकिन छैन । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले यात्रुहरूको चाप बढेको तथा भाडा चर्को भएको गुनासो आएकोले उडान संख्या थप्ने अनुमति दिइएको बताउनु भयोे । ‘कोरोना महामारीको अवस्था पनि सहज हुँदै गएको छ । अन्य सबै क्षेत्र खुकुलो भइसकेकाले स्वास्थ्य मापदण्ड पूरा गरेर उडान थप्न अनुमति दिइएको हो,’ उहाँले भन्नुभयो, ‘अब नेपाल वायू सेवा निगम र एयर इन्डिया दुबैले सातामा ७ उडान संख्याको सीमाभित्र रहेर उडान गर्न पाउनेछन् ।’

कोरोनाको पहिलो लहर फैलँदा बन्द गरिएको हवाई मार्ग दुई देशबीच भएको एयर बबल सम्झौतापछि खुलाइएको थियो । दोस्रो लहर फैलिएपछि नेपालले गत मे ७ देखि निगम र एयर इन्डियालाई सातामा एक/एक उडान गर्ने अनुमति दिएको थियो । कोरोनाको प्रभाव घट्दै गएपछि गत जुलाई २४ मा उडान संख्या बढाएर सातामा ३/३ वटा पुर्‍याइयो । हाल सोमबार, बुधबार र शनिबार निगमले तथा आइतबार, मंगलबार र शुक्रबार एयर इन्डियाले एक-एक उडान गर्दै आएको छ । बिहीबार भने कुनै पनि उडान हुँदैन ।

कोरोना महामारी सुरु हुनुअघि यो रुटमा दिनमै ११ वटा उडान हुन्थ्यो । इन्डिगो एयरले दिनमै ३ वटासम्म उडान गर्थ्यो । त्यस्तै, निगम, एयर इन्डिया र स्पाइस जेटले दैनिक २/२ तथा ड्रुक एयर र भिस्ताराले १/१ उडानमार्फत सेवा दिन्थे । त्यती धेरै यात्रुको चाप रहने काठमाडौं-दिल्ली रुटमा निश्चित दुई कम्पनीलाई त्यो पनि सातामा तीन दिन १/१ उडानमा सीमित गरिँदा यात्रु महँगो भाडा तिर्न बाध्य छन् । कान्तिपुर अनलाईन

Facebook Comments