दुवै जनाको शव घर नजिककै झाडीमा खाल्डो खनेर गाडेको अवस्थामा फेला परेको हो । एउटै खाल्डोमा ससुरा र बुहारीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिनुभयो । रातिदेखि बेपत्ता ससुरा र बुहारीको खोजतलास गर्ने क्रममा झाडीमा माटो खनिएको जस्तो शङ्कास्पद ठाउँ देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनालगत्तै प्रहरीले भागेश्वरलाई पक्राउ गरी अनुसन्धान गर्दा उनले हत्या गरेर शव गाडेको स्वीकार गरेका थिए । त्यसपछि शव गाडेको ठाउँमा प्रहरीले घेरा हालेर शव निकालेको थियो ।

दुवैको हत्या गरी खाल्डोमा पुरेपछि गाउँमा गएर भागेश्वरले  बुबा र श्रीमती बेपत्ता भएको हल्ला गरेपछि गाउँले आफन्तसँगै उनी पनि खोज्न हिँडेका थिए ।आफूमाथि शङ्का नहोस् भनेर उनले त्यसो गरेको हुनसक्ने स्थानीयले बताए ।

शव उत्खननपश्चात् प्रहरीले घटनास्थलको प्रकृति मुचुल्का उठाई शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लग्ने तयारी गरिरहेको छ । मृतक दुवैको टाउकोमा गहिरो चोट देखिएकाले रड प्रहार गरी हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । राति नै हत्या गरेर शव गाडेको शङ्का गरिएको छ । स्थानीयवासीका अनुसार गत वर्ष मात्र भागेश्वर वैदेशिक रोजगारीबाट घर फर्केका हुन् । घर फर्केपछि उनले बुबा र श्रीमतीबीच अनैतिक सम्बन्ध रहेको आशङ्का गर्दै आएका थिए । उनको श्रीमतीसँग दिनहुँ झैझगडा हुँदै आएको थियो । सोही आशङ्काको आधारमा उनले आफ्ना बुबा र श्रीमतीको हत्या गरेको हुनसक्ने स्थानीयवासीको आशङ्का छ । भागेश्वर र अम्रिका देवीका दुई छोराछोरी छन् । रासस