Sat. Apr 20th, 2024

चिनियाँ राष्ट्रपतिको भ्रमणबाट नेपालले बहुआयायिक लाभ लिनसक्ने दावी

चितवन, २४ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपतिको भ्रमणबाट बहुआयामिक लाभ हासिल गरिने बताउनुभएको छ । नेकपा चितवनले आज माडीमा आयोजना गरेको दिवारक स्मृति ग्रन्थ विमोचन तथा दिवाकर भुसालको पूर्णकदको शालिक अनावरण समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रपति सी चीनफिङको भ्रमण नेपालका लागि उच्च महत्वको हुने बताए ।

नेपाल, चीन र भारतमा यति बेला सशक्त र शक्तिशाली सरकार रहेको र यस्तो परिस्थितिमा हुन लागेको भ्रमण केवल केही समय आउने र जानेमा मात्र सीमित नहुने विश्वास व्यक्त गरे ।

फरक प्रसङ्गमा उनले माडी क्षेत्रको विकासका लागि आफूले सरकार, निकुञ्ज र कर्मचारीसँंग छलफल गरिरहेको उनको भनाइ थियो । यस क्षेत्रको विकास संवेदनशील, महत्वपूर्ण र चुनौतीपूर्ण छ भन्दै उनले भने, “यस क्षेत्रको विकासका लागि जति चुनौती छ त्यति नै महत्वपूर्ण रहेको छ जसका लागि म निरन्तर लागिरहेको छु ।” अध्यक्ष दाहालले पार्टीले छिट्टै महाभियान सञ्चालन गर्ने तयारी गरिरहेको बताउँदै सम्पूर्ण नेता कार्यकर्ता र शुभचिन्तकलाई त्यसमा जुट्न आग्रह गरे ।

कार्यक्रममा पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले भुसाल एक आदर्श नेता मात्र नभएर कम्युनिष्टका धरोहर रहेको बताउँदै उनको आदर्श पूरा गर्न सिङ्गो पार्टी लाग्नुपर्नेमा जोड दिए । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भुसालले समाज र पार्टीलाई छाडेर गएको आदर्शलाई व्यवहारमा उतार्दै अगाडि बढ्दा मात्र उनीप्रति सच्चा सम्मान हुने बताए । पार्टीको एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ भन्दै उनले अब एकीकृत पार्टीका सारा शक्ति र सरकार राष्ट्र निर्माण लगाइने बताए ।

कार्यक्रममा नेकपाका जिल्ला इञ्चार्ज कृष्ण खनाल, माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकाललगायतले भुसालको योगदानबारे चर्चा गरेका थिए । जिल्ला अध्यक्ष यमबहादुर परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्मृति ग्रन्थ तयारीमा लाग्नुभएका पत्रकार नारायणप्रसाद सापकोटा र शालिक निर्माणमा लाग्नुभएका महानुभावलाई सम्मान गरिएको थियो । यसअघि अध्यक्ष दाहालले माडीको बघौडामा रहेको बघौडा अस्पतालको शल्यक्रिया भवन उद्घाटन गर्नुभएको थियो । सो अवसरमा उनले अस्पताललाई १५ श्ययाबाट ५० श्ययाको बनाउन पहल गरिने प्रतिबद्धता जनाएका थिए ।

Facebook Comments