Sun. May 5th, 2024

चर्चित प्रगतिशिल गायक जेबी टुहुरेको स्वास्थ्य अवस्था गम्भीर

काठमाण्डौं, २०७८ भदौं ६ गते आईतबार । चर्चित प्रगतिशिल गायक जेबी टुहुरेको स्वास्थ्य अवस्था गम्भीर रहेको खवर प्राप्त भएको छ । मस्तिष्कघात भएपछि वरिष्ठ गायक जुठबहादुर खड्गी (जेबी टुहुरे)को स्वास्थ्य स्थिति गम्भीर र स्थिर रहेको उहाँको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

गएको मंगलबार काठमाडौंको कलंकीस्थित निवासमा एक्कासी लडेपछि उहाँलाई बल्खुस्थित बयोधा अस्पतालको सिसियू कक्षमा भर्ना गरिएको थियो ।

मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घ रोगी समेत रहनु भएका ७८ वर्षीय टुहुरेलाई अप्रेसन गर्न जोखिमपूर्ण रहेकाले औषधिको माध्यमबाट उपचार जारी राखिएको उपचारमा संलग्न वरिष्ठ न्युरोलोजिस्ट डा. सामर्थ सिंहले बताउनु भयो । टुहुरेको उपचारमा सम्भव सबै प्रयत्न जारी राखिए पनि अपेक्षाकृत सुधार हुन नसकिरहेको पनि उहाँले बताउनु भयो । टुहुरेलाई हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ ।

बिहीबार पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’अस्पताल पुगेर उहाँको स्वास्थ्य स्थिति बारे जानकारी लिनु भएको थियो। उहाँले टुहुरेको उपचारको सम्पूर्ण खर्च व्यहोर्न सरकारलाई आग्रह गर्ने बताउनु भयोे ।

अस्पतालमा टुहुरेलाई भेट्न एमाले महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री जनार्दन शर्मा, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठलगायत पुग्नु भएको छ । अनलाईन खवरका अनुसार टुहुरेको उपचारमा अहिले डा. सामर्थ सिंह, डा. विश्वकुमार श्रेष्ठ, डा. पावनबहादुर भण्डारी, डा. प्रकाश श्रेष्ठको चिकित्सक टोली संलग्न छ ।

२० को दशकदेखि सांगीतिक क्षेत्रमा प्रवेश गर्नुभएका टुहुरेले १ सय ५० वटा भन्दा बढी जनपक्षीय गीत रेकर्ड गराउनु भएको छ। ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’ बोलको गीत उहाँको सर्वाधिक लोकप्रिय जनजिब्रोमा झुण्डिन सफल गीत हो ।

सुनसरी जिल्लाको धरानमा जन्मिनु भएका टुहुरे दोस्रो संविधानसभामा तत्कालीन एकीकृत नेकपा माओवादीका तर्फबाट समानुपातिक सभासदसमेत हुनुभएको थियो । २०७५ सालमा उहाँको नाममा जेबी टुहुरे फाउण्डेसन स्थापना गरिएको छ ।

Facebook Comments