सामान्य नागरिकले शेयरमा गरेकाे लगानी डुब्न दिँदैनाैँ : मन्त्री शर्मा
काठमाण्डौं, २०७८ भदौं ४ गते शुक्रबार । अर्थ मन्त्री जनार्दन शर्माले सामान्य नागरिकले शेयर बजारमा गरेको लगानी डुब्न नदिन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ । सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको शुक्रवार सिंहदरबारमा बसेको बैठकमा मन्त्री शर्माले झन्डै ३७ लाखले शेयर बजारमा कारोबार गरिरहेको भन्दै सामान्य नागरिकको लगानी डुब्न नदिन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको हो ।
अर्थ मन्त्री शर्माले नियामक निकाय धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीले पदीय मर्यादा विपरीत काम गरेकोमा सरकारको ध्यान गएको स्पष्ट पार्दै उनीहरूमाथि आवश्यक कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले सर्वसाधारणको विश्वास जित्ने गरी शेयर बजारलाई अघि बढाउन आफू प्रतिबद्ध रहेको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले दिनानुदिन पुँजीबजार बढ्दो छ । सर्वसाधारणले पनि यसमा व्यापक लगानी गरेका छन् । त्यो लगानीको संरक्षण गर्ने र नागरिकको हितको संरक्षण गर्नलाई मन्त्रालय प्रतिबद्ध छ । अहिले अनियमिताको बारेमा उठेका प्रश्नका बारेमा यही नै भनेर निष्कर्ष निकाल्नुभन्दा पनि छानबिनबाट प्राप्त भएको रिपोर्टको आधारमा मात्रै भन्न सकिने भएको हुनाले त्यहाँको यथार्थ कुरा आइसकेपछि हामी त्यसबारेमा सार्वजनिक गर्न, आवश्यक प्रक्रिया चाल्न स्वाभाविक हुने भएकाले हाम्रो ध्यान त्यसमा केन्द्रित भएको छ । छानबिन अगाडि बढेको छ र हाम्रो ध्यान नागरिकको कारोबार र लगानी संरक्षण गर्नतिर छ ।’
शेयर बजारमा ३७ लाखभन्दा धेरै आबद्ध भए पनि सय जना जतिले मात्र लाभ लिइरहेकाले सामान्य नागरिकको लगानी डुब्न नदिन मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री शर्माको भनाइ छ ।
नियामक निकायका प्रमुखहरुले ‘इन्साइडर ट्रेडिङ’ गरेको सम्बन्धमा संसदको अर्थ समितिको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले दिनुभएको मन्तव्यको पूर्ण पाठ :
माननीय सभापतिज्यू, माननीय सदस्यहरू ǃ
यतिबेला नेपालको पुँजीबजार लाखौँको सहभागितामा अगाडि बढिरहेको छ । कारोबार भइरहेको छ । आर्थिक नीति घोषणासँगै करिब साढे २१ अर्बको कारोबार भएको थियो । एकातिर यसले सकारात्मक दिशा लिइरहेको अवस्था छ भने अर्कोतिर पुँजीबजारलाई सही ढंगले नियमन गर्नका लागि र आम जनतालाई यथार्थसमेत सुसूचित गर्नका लागि हामीले थप प्रयास गर्नुपर्ने मैले देखेको छु । यसै विषयमा धितोपत्र बोर्डको सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारहरू सार्वजनिक भए । नियामक संस्थाकै अधिकारीहरूले आफ्नो परिवार भित्रै सेयर खरिद बिक्रीका ठुलाठुला कारोबार भएका खबरहरू सार्वजनिक भए । त्यसलगत्तै अर्थ मन्त्रालयको ध्यानाकर्षित भयो ।
धितोपत्र बोर्डमा भएको के हो भनेर यथार्थ बुझ्नका लागि सर्वप्रथमतः पत्राचार गरियो । त्यसको जवाफ पनि प्राप्त भएको छ । त्यसले पनि नपुग्ने भएपछि मन्त्रीस्तरीय निर्णयबाट पाँच सदस्यीय छानबिन समिति बनाएर छानबिनको काम अगाडि बढेको छ । सञ्चारमाध्यममा आएका समाचार के हो त भनेर सत्य तथ्य जानकारी छानबिन समितिले दिनेछ । त्यसपछि आम नागरिकलाई जानकारी गराउनेछौँ । सोअनुसारको मन्त्रालयले आवश्यक कारबाही गर्नेछ । धितोपत्र बोर्ड र स्टक एक्स्चेन्जलगायतमा देखिएका समस्याहरूको छानबिनबाट सत्य तथ्य बाहिर ल्याउनेछौँ ।
अहिले दिनानुदिन पूँजीबजार बढ्दो छ । धेरै आम सर्वसाधारणले पनि यसमा व्यापक लगानी गरेका छन् । त्यो लगानीको संरक्षण गर्ने र जनताको हितको संरक्षण गर्नलाई मन्त्रालय प्रतिबद्ध छ । सार्वजनिक रूपमा मैले यो कुरा भन्दै आइरहेको छु । आम लगानीकर्ताको हितमा मन्त्रालयले आवश्यक कदमहरू चाल्नेछ । यो कुरा बारम्बार भन्दै आइरहेको छु । यहाँ पनि यो भन्न चाहन्छु । अहिले अनियमितताको बारेमा उठेका प्रश्नका बारेमा यही नै भनेर निष्कर्ष निकाल्नुभन्दा पनि छानबिनबाट प्राप्त भएको रिपोर्टको आधारमा मात्रै भन्न सकिने भएको हुनाले त्यहाँको याथार्थ कुरा आइसकेपछि हामी त्यस बारेमा सार्वजनिक गर्न, आवश्यक प्रक्रिया चाल्न स्वभाविक हुने भएकाले हाम्रो ध्यान त्यसमा केन्द्रित भएको छ । छानबिन अगाडि बढेको छ । र हाम्रो ध्यान जनताको कारोबार र लगानी संरक्षण गर्नतिर छ ।
पूँजीबजार सम्बन्धी तपाईँहरूले अध्ययन गर्नुभएको रहेछ । त्यसको रिपोर्ट हामीले पनि अध्ययन गर्न पायौँ भने अझ हामीलाई सजिलो होला । जहाँसम्म धितोपत्र बोर्ड, नेप्सेलगायतका निकायहरू छन्, ती निकायहरूले गर्ने काम कारबाहीबारे आवश्यक नियमन गर्ने र त्यसलाई सही दिशातिर लैजाने एउटा जिम्मेवारी अर्थ मन्त्रालयमा रहेको कारणले विषय उठ्ने बित्तिकै हाम्रो ध्यानाकर्षण भयो । विषय उठ्नेबित्तिकै पत्राचार भयो । यहाँ स्पष्टीकरण संस्थालाई किन लेखियो भनेर प्रश्न उठेको छ । संस्थालाई चिठी लेख्दा अपूर्ण भएकाले व्यक्तिलाई फेरि चिठी लेखियो । व्यक्तिको स्पष्टीकरणले पनि हामीलाई चित्त नबुझेको हुँदा छानबिन समिति बनाइएको हो । छानबिन समितिलाई पनि हामीले धेरै समय दिएका छैनौँ । अब केही दिनमै समितिले हामीलाई रिपोर्ट बुझाउनेछ ।
छानबिन समितिको लागि पुनरावेदन वा उच्च अदालतको न्यायाधीशको नेतृत्वमा समिति बनाउने कानूनी व्यवस्था पनि एकातिर छ । फेरि अर्कातिर तपाईँहरूलगायत सबैलाई छिटो नतिजा आउनुपर्ने भन्ने भावना भएकाले हामीले छिटो गर्नका लागि समिति बनाइसकेका छौँ । तपाईँहरूलाई जति छिटो होस् भन्ने लागेको छ त्यति नै हामीलाई पनि लागेको छ । यस किसिमका समस्यालाई समाधान गर्न कानूनमा भएका ‘लूप होल’हरूलाई समेत टाल्नुपर्ने अवस्था आएको छ । अब नयाँ कानूनको पनि खाँचो देखिएको छ । यो सबैलाई लागेको कुरा हो । हामी सदनमा प्रस्तुत गर्छौँ । अब त्यसलाई पास गर्ने काम तपाईँ माननीय सदस्यहरूको हो ।
हामीले छिटो गर्न खोज्नुको एउटै मात्र कारण छ, जनताको पैसा कतै डुब्ने हो कि भन्ने चिन्ता । अहिले पूँजीबजार किन बढ्यो भने कोरोनाका कारण भएका निषेधाज्ञाले गर्दा अन्य लगानीका वैकल्पिक बाटाहरू भएनन् । अनि इन्टरनेको पहुँच भएका आम मानिसहरूको ध्यान यतातिर आकर्षित भयो । यता आकर्षित हुँदा करिब ३७ लाखले कारोबार गरिरहेको रेकर्ड छ । त्यो ३७ लाखमध्ये अत्यधिक मानिस सामान्य हुन् । सय जना जति मात्रले यसको लाभ लिइरहेका छन् । त्यसैले ती सामान्य मानिसहरूको लगानी पनि नडुबोस् भन्नेमा हाम्रो ध्यान गम्भीर ढङ्गले गएको छ ।
अहिले समस्याका बारेमा धेरै कुरा भन्न नहुने अवस्थामा छ । म आफैँले निर्णय गरेर छानबिन गर्न लगाइएको छु । अहिले धेरै बोले त्यसमा प्रभाव पर्न सक्छ । त्यसैले छानबिन समितिको अन्तिम रिपोर्ट नआएसम्म यसमा धेरै कुरा बताउन नमिल्ने अवस्था छ ।
अर्को कुरा अस्वभाविक मूल्य वृद्धिको कुरा पनि आइरहेको छ । ती कुराहरूमा पनि हाम्रो ध्यान पुगेको छ । माननीय सदस्यहरूले हेर्नु भएको होला, विद्युत नियमन आयोगले यस्तो विषयमा सूचना जारी गरेको छ । आम लगानीकर्ताहरूलाई पनि भन्न चाहन्छु कि त्यो सूचना हेर्नुहोस् । आयोगले कम्पनीको बारेमा सत्य तथ्य बुझेर मात्र लगानी गर्न भनेको छ । लगानीलाई प्रेरित गर्ने हाम्रो काम हो । त्यसकारणले कहाँ लगानी गर्दा फाइदा हुन्छ के अवस्था छ भनेर जानकारी दिने काम पनि विभिन्न नियमनकारी निकायहरूले गरिरहेको कुरा पनि यहाँ जानकारी गराउन चाहन्छु ।
यहाँ इन्साइडर ट्रेडिङसँग प्रविधिको समस्या पनि होला । हिजो कतिले कारोबार गर्थे, आज कतिले कारोबार गरिरहेका छन् भन्ने कुरामा पनि प्रविधि परिष्कृत गर्नुपर्ने आवश्यकता होला । अन्य कारणले आम लगानीकर्तालाई समस्या भएको होला । यी यावत विषयमा हाम्रो ध्यानाकर्षण भएको छ । यी सबै विषयमा छानबिन गर्न छानबिन समितिलाई कार्यादेश दिएका छौँ । यो छानबिन आम लगानीकर्ताको हितमा हुनेछ । ढुक्क हुन म माननीय सदस्यहरूलाई माननीय सभापति मार्फत आग्रह गर्न चाहन्छु । यो कुरा काम भएपछि देखिनेछ ।
हामीलाई बोलाएर छलफल गर्ने अवसर दिनुभएकोमा सभापति मार्फत् सिङ्गो समितिलाई म धन्यवाद दिन चाहन्छु ।
४ भदौ २०७८
उज्यालो अनलाईन