Sun. Dec 29th, 2024

अफगानिस्तान द्वन्द्व: उच्च तहका तालिबान नेता स्वदेश फर्किए

मुल्लाह अब्दुल गनी बरादर/REUTERS

काठमाण्डौं, २०७८ भदौं २ गते बुधबार । अफगानिस्तानमा तालिबानको नियन्त्रण कायम भएपछि उक्त समूहको उच्च नेतृत्वमा रहेका नेताहरू कतारबाट स्वदेश फर्केका छन्। स्वदेश फर्किनेमध्ये कतिपय नेताहरूले कतारमा निर्वासित जीवन बिताइरहेका थिए।

तालिबानका संस्थापकमध्येका एकजना नेता मुल्लाह अब्दुल गनी बरादर पनि अफगानिस्तान पुग्नु भएको छ । अमेरिकी सैन्य फिर्तीबारे भएका वार्ताहरूमा महिनौँ नेतृत्व गर्नुभएका उहाँले स्वदेश फिर्तीलाई एउटा नाटकीय पुनरागमनको सङ्केतका रूपमा लिइएको छ।

उहाँ स्वदेश फर्कने क्रममा कान्दहार विमानस्थलनमा उत्रिनु भएको हो । कान्दहार तालिबानकै शब्दमा उनीहरूको पवित्र उद्गमस्थल हो। २० वर्षअघि अमेरिकी फौजले तालिबानलाई हटाउनु अघिसम्म कान्दहार उनीहरूको महत्त्वपूर्ण आधार क्षेत्र रहेको थियो।

कान्दहार विमानस्थलबाट उहाँ कारमा बसेर बाहिरिँदा उहाँको स्वागत गर्न कैयौँ मानिसहरू आएको देखिने भिडिओ फुटेजहरू बाहिरिएका छन्।

को हुन् मुल्लाह अब्दुल गनी बरादर ?

मुल्लाह अब्दुल गनी बरादर ती चारजनामध्येका एक हुनुहुुन्छ जसले सन् १९९४ मा तालिबानको गठन गरेका थिए। सन् २००१ मा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले तालिबानलाई सत्ताबाट हटाइदिएपश्चात् उहाँ विदेशी सैन्य फौजविरुद्धको विद्रोहका एक प्रमुख नाइके बन्नु भएको थियो ।

सन् २०१० मा अमेरिका र पाकिस्तानको संयुक्त कारबाहीका बेला उहाँलाई कराची सहरबाट पक्राउ गरिएको थियो। सन् २०१२ सम्म उहाँका बारे धेरै जानकारी उपलब्ध थिएन।

त्यतिखेर अफगानिस्तान सरकारले शान्ति वार्ताको कुरा गर्दा पहिले आफ्ना बन्दी मुक्त गर्नुपर्ने भन्दै तालिबानले दिने गरेको सूचीमा उहाँको नाम प्रमुख रूपमा हुने गर्थ्यो।

सन् २०१३ मा पाकिस्तानी सरकारले उहाँलाई रिहा गर्‍यो। उहाँ तालिबानका पूर्व प्रमुख नेता मुल्लाह ओमारद्वारा सबभन्दा भरोसा गरिएका र उहाँका निकट सहयोगी हुनुहुन्थ्यो। पक्राउ पर्दा उहाँ तालिबानका दोस्रो सबभन्दा ठूला नेता हुनुहुन्थ्यो ।

सन् २०१८ मा कतारमा अमेरिकासँग कुराकानी गर्न तालिबानको कार्यालय खुल्दा त्यहाँ तालिबानको राजनीतिक प्रमुखका रूपमा उहाँलाई खटाइयो। उहाँले सधैँ अमेरिकासँगको वार्ताको समर्थन गरिरहनु भयो ।

इन्टरपोलका अनुसार मुल्लाह बरादरको जन्म उरुजगान प्रान्तमा सन् १९६८ मा भएको थियो। उहाँ दुर्रानी समुदायका भएको ठानिन्छ। बीबीसी

Facebook Comments