Sun. Nov 24th, 2024

तालिबानको हमला बढेसँगै अफगानिस्तानका सेना प्रमुखलाई हटाईयो

अफगानिस्‍तानका सेना प्रमुख जनरल वली अहमजई (दाहिने) बर्खास्‍त

काठमाण्डौं, २०७८ साउन २८ गते बिहीबार । अफगानिस्तानमा एकपछि अर्को सहर नियन्त्रणमा लिइरहेको तालिबानले त्यहाँको दोस्रो ठूलो सहर कान्दहारको एउटा जेललाई आफ्नो कब्जामा लिएर सयौँ कैदीहरूलाई रिहा गरिदिएको खबर आएको छ।

अन्तर्राष्ट्रिय रेडक्रसका अनुसार देशको दक्षिणी भागमा अवस्थित उक्त सहरका “गल्ली गल्लीमा लडाइँ” जारी छ। बढ्दो हिंसाकाबीच बुधवार अफगान सरकारले त्यहाँका सेना प्रमुखलाई बर्खास्त गरेको थियो।

हालसम्म ३४ मध्ये ९ वटा प्रान्तीय राजधानीहरूलाई नियन्त्रण गरिसकेको तालिबानले कान्दहारलाई पनि कब्जा गर्न प्रयास गरिरहेको छ। रेडक्रसका अनुसार अफगानिस्तानको उक्त दक्षिणी सहरबाट मानिसहरू पलायन भइरहेका छन्।

त्यहाँ एक साताभित्र घाइते हुने सर्वसाधारणको सङ्ख्या दोबर भएको छ। श्रृङ्खलाबद्ध रूपमा अफगानिस्तानका प्रान्तीय राजधानीहरू तालिबानको कब्जामा गएपछि बुधवार अफगान सरकारले त्यहाँका सेना प्रमुख वली मोहम्मद अहमदजाइलाई बर्खास्त गरेको थियो।

उहाँ उक्त पदमा गत जुनमा नियुक्त हुनुभएको थियो । अब उहाँका उत्तराधिकारीले देशभरि बढेको हिंसा र तालिबानको शक्तिसँग जुझ्नु पर्नेछ।

अफगानिस्तानमा २० वर्षदेखि रहेका अमेरिकी र अन्य विदेशी फौजले छाडेपछि तालिबानले आफ्नो नियन्त्रण बढाउँदै लगेको हो। संयुक्त राष्ट्रसङ्घका अनुसार गत महिना मात्र त्यहाँ १,००० सर्वसाधारण मारिएका छन्।

परम्परागत रूपमा तालिबान विरोधी रहँदै आएको अफगानिस्तानको उत्तरी सहर मजार-ए-शरीफ पनि तालिबानी हमलाको चपेटामा परेको छ।

राष्ट्रपति असरफ गनी सरकार समर्थक फौजलाई हौसला बढाउन एउटा र्‍यालीमा सहभागी हुन बुधवार उक्त सहरमा पुग्नु भएको थियो । बीबीसी

Facebook Comments