Wed. May 15th, 2024

अरनिको समाजद्वारा ४ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाण्डौं, २०७८ साउन २७ गते बुधबार । अरनिको समाजले स्वास्थ्य मन्त्रालयलाई कोरोना महामारी नियन्त्रणको लागि आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दीपेन्द्र रमण सिंहलाई १ लाख वटा पिसिआर टेष्ट किट हस्तान्तरण गरिएको हो ।

 

हस्तान्तरण गरिएका पि.सि.आर टेष्ट किटहरु चीनको उहान इजी डाइग्नोसिस बायोमेडिसिन कम्पनीबाट उत्पादन गरिएको हो । हस्तान्तरित सामग्रीहरुको मूल्य ४ लाख अमेरिकी डलर पर्ने अरनिको समाजका निवर्तमान अध्यक्ष डा.सर्बोत्तम श्रेष्ठले बताउनु भयो ।

करिब २ हप्ता अगाडि चीनका ८ वटा मेडिकल फर्मास्युटीकल कम्पनीबाट अरनिको समाजलाई कोभिड नियन्त्रणको लागि ती सामग्रीहरु प्राप्त भएको हो । चीनको शाङ्हाई, उहान, छाङ्शा, नाननिङ आदि शहरका ८ वटा मेडिकल फर्मास्युटिकल कम्पनीले चीनको परराष्ट्र मन्त्रालयको समन्वयमा नेपाललाई ती स्वास्थ्य सामग्री दिने निर्णय गरिएको थियो ।

करिव दुई हप्ता अगाडी पनि अरनिको समाजले ती समाग्रीहरु नेपाल-चीन सीमाबाट काठमाडौं ल्याई वीर अस्पताल, ट्रमा सेन्टर, प्रहरी अस्पताल, निजामति कर्मचारी अस्पताल, क्षत्रपाटी निःशुल्क चिकित्सालय लगायतलाई हस्तान्तरण गरेको थियो ।

अरनिको समाज चीनमा चिकित्सा शास्त्र र इन्जिनियरिङ अध्ययन गरेर फर्कीएका नेपाली बिद्यार्थीहरुको संगठन हो । यसको स्थापना सन् १९८१ मा भएको थियो । स्थापना पश्चात यस संस्थाले देशका विभिन्न भागमा नि:शुल्क स्वास्थ्य शिविर, चीनमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुको लागि शैक्षिक परामर्श दिने लगायतका विभिन्न समाजिक कार्यक्रहरु सञ्चालन गर्दै आएको छ । यसका अतिरिक्त अरनिको समाजले चीनमा अध्ययन गर्न जाने नेपालीहरुको लागि छात्रवृत्ति उपलब्ध गराउने र नेपाली विद्यार्थीहरुलाई नि:शुल्क रुपमा चिनियाँ भाषा सिकाउने काम पनि गरिरहेको छ ।

Facebook Comments