Wed. May 15th, 2024

अब दुबई राज्यमा जान खोप लगाएको प्रमाण नचाहिने

काठमाण्डौं, २०७८ साउन २७ गते बुधबार ।  संयुक्त अरब इमिरेट्स यूएईको दुबई राज्यमा जान अब कोरोना भाइरस विरुद्धको खोप लगाएको प्रमाण नचाहिने भएको छ । नेपाल, भारत, पाकिस्तान र श्रीलङ्काबाट दुबई आउनेले यूएई सरकारले तोकेका अन्य स्वास्थ्यका मापदण्ड पालना गर्नु परे पनि कोरोना विरुद्धको खोप लगाएको प्रमाणपत्र भने पेस गर्नु नपर्ने यूएईको स्थानीय सञ्चार माध्यमले खबर लेखेका छन् । तर यो नियम यूएईको अन्य राज्यमा भने लागू हुने छैन ।

रे न्यूज डेलीका अनुसार कोरोना विरुद्धको खोप लगाएको प्रमाणपत्र आवश्यक नभए पनि यूएई जाने नेपालीले सबैभन्दा पहिला त यूएईको सम्बन्धित निकायमा अनलाइनबाटै यूएई प्रवेशका लागि अनुमति लिनुपर्छ । ४८ घण्टा भित्रको पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्नेछ ।

नेपालको विमानस्थलमा र्‍यापिड पीसीआर परीक्षण गरेको हुनुपर्नेछ भने यूएईको विमानस्थलमा अवतरण भए पछि पनि पीसीआर परीक्षण गर्नुपर्छ ।

क्वरेण्टीन लगायतका यूएई सरकारले तोकेको अन्य स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेछ । तर नेपालबाट जाने यात्रुको विमानस्थलमा र्‍यापिड पीसीआर परीक्षणको व्यवस्था नहुँदा दुबई उड्न विमानस्थल पुगेका यात्रुसमेत फर्किएका छन् ।

यूएई जाने जहाज रित्तै गएको छ । नेपाल एयरलाइन्सले र्‍यापिड पीसीआर परीक्षणको व्यवस्था नभएसम्म यूएई जाने यात्रु नलैजाने बताएको छ ।

Facebook Comments