Thu. May 16th, 2024

कोरोना नियन्त्रण प्रभावकारी बनाउन निर्देशन

काठमाण्डौं, २०७८ साउन २३ गते शनिबार । गृहमन्त्री बालकृष्ण खाँणले कोरोना नियन्त्रण र न्यूनीकरण कार्य प्रभावकारी नदेखिएको भन्दै सबै निकायलाई एक साताभित्र नतिजा ल्याउन निर्देशन दिनुभएको छ । कोरोना सङ्क्रमणका बेला स्वास्थ्य मन्त्रालयमा थन्किएर राखिएको तीन करोड थान मास्क वितरण गर्न पनि उहाँले निर्देशन दिनुभयो ।

आम नागरिकको जीवन रक्षाकै लागि राज्य बनेका र राज्य सबैको साझा भएकाले चैतसम्ममा सबै नागरिकले खोप पाउनुपर्ने उहाँले बताउनुभयो । ‘‘प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो उद्घोष नै नागरिकलाई खोप रहेको हुँदा त्यसलाई पूूरा गराउनु हामी सबैको दायित्व हो’’, मन्त्री खाँणले नेपाल प्रवेश गर्ने नाकाहरूमा खोप व्यवस्थापन गर्न र चैतसम्म सबै नेपाली र नेपाललाई खोपयुक्त बनाउने अभियान सफल बनाउन निर्देशन दिनुभयो ।

कोरोना महामारी नियन्त्रण र न्यूनीकरण कार्यमा संलग्न उच्च पदाधिकारीसँग शुुक्रबार मन्त्रालयमा गरिएको अन्तक्र्रियामा उहाँले कोरोना नियन्त्रण तथा रोकथाममा के गर्ने, कसरी गर्ने भनेर सबै पक्षले तत्कालै त्यसको रूपरेखा प्रस्तुत गर्न निर्देशन दिनुभएको गृहमन्त्रीका स्वकीय सचिव नरेन्द्र केसीले जानकारी दिनुभयो । त्यस्तो रूपरेखा शनिबारको बैठकमा पेस गर्न गृहमन्त्रीले निर्देशन दिनुभएको उहाँले जानकारी दिनुभयो ।

कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रमुख भए पनि गृह मन्त्रालयले त्यसमा कसरी काम गर्न सक्छ भन्ने तयारी गर्नसमेत गृहमन्त्री खाणले निर्देशन दिनुभएको थियो । नागरिक स्तरमा मास्कको प्रयोग पर्याप्त नभएकाले कोरोनाबाट जोगिन मास्क उपयोगी रहेको उल्लेख गर्दै उहाँले सय वर्षअघि नै मास्कको कल्पना गरिएकाले मास्कको भरोसा गरी उपयोगमा जोड दिन अनुरोध गर्नुभयो । विदेशबाट आउने नागरिकका लागि होटलमा क्वारेन्टाइन बनाइएको तर होटल खाली भएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभएको थियो । वैदशिक रोजगारबाट आएका नागरिकबाट बढी जोखिम हुने भएकाले निगरानी बढाउन आवश्यक रहेको बताउँदै उहाँले नाकामा चेकजाँच गर्ने बलियो संयन्त्र बनाउन निर्देशन दिनुभयो । गोरखापत्र अनलाईन

Facebook Comments