Thu. May 16th, 2024

ओलाङचुङगोलामा सबैलाई खोप उपलब्ध गराईयो

काठमाण्डौं, २०७८ साउन २१ गते बुहीबार । चीनसँग सीमा जोडिएको उत्तरी नाका ओलाङचुङगोलाका लगभग सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । तीमध्ये अधिकांशले दोस्रो मात्रा पनि पाइसकेका छन् ।

अघिल्लो बुधबार १ सय ३० जना स्थानीय र २५ जना सुरक्षाकर्मीलाई भेरोसेल खोपको दोस्रो मात्रा लगाइएको वडाध्यक्ष तेन्जिङ शेर्पा भोटेले बताउनु भयो । पहिलो मात्रा कोभिसिल्ड लगाएकाहरूलाई भने दोस्रो मात्रा दिन बाँकी छ । यस्ता व्यक्ति ७० जना छन् ।

पहिलो मात्रा लगाउनेमा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र ७० वर्ष माथिका नागरिक छन् । गाउँमा एक जनाले मात्र खोप लगाउन नमानेको वडा कार्यालयका कर्मचारी तेन्जिङ शेर्पा भोटे बताउँनु हुन्छ । उहाँका अनुसार स्थानीय ८४ वर्षीया रिदा शेर्पाले खोप लगाउन नमान्नु भएको हो । रिदाले अहिलेसम्म कुनै खोप नलगाएको भन्दै कोरोना खोप पनि लगाउन अस्वीकार गरेको भोटेले जानकारी दिनुभयो ।

चौंरीको गोठ लिएर टिप्ताला भन्ज्याङछेउसम्म गएकाहरू पनि खोप लगाउन गाउँ फर्किएका थिए । ‘गाउँमा भएकाले त दिउँसै लगाइहाले, गोठबाट आउने एक-दुई जनालाई पर्खेर बेलुका ६ बजेसम्म सबैलाई खोप लगायौं,’ तेन्जिङले भन्नुभयो ।

फक्ताङलुङ गाउँपालिका-७ को ३१ सय मिटर उचाइमा रहेको बस्तीमा मंगलबार नै खोप पुगेको र गाउँका मान्छेले गोठमा आलोपालो गरेर खोप लगाएको गाउँपालिकाका प्रवक्ता छेतेन वालुङले बताउनु भयो । उहाँका अनुसार गाउँपालिकाका उच्च हिमाली बस्तीमा रहेका याङमा, घुन्सा, फलेका हरेक व्यक्तिलाई लगाउन पुग्ने गरी खोप पठाइएको छ । याङमा ४२ सय मिटर उचाइमा छ । ‘गाउँपालिकाबाट ती बस्तीमा पुग्न तीन दिनसम्म लाग्छ,’ वालुङले भन्नुभयो, ‘कोही पनि नछुटोस् भनेर पर्खेर पनि खोप लगाउने नीति गाउँपालिकाले बनाएको थियो ।’

चीनसँग सिमाना जोडिएको फक्ताङलुङ गाउँपालिकाका १८ वर्ष माथिकालाई खोप कार्यक्रममा समेटिएको गाउँपालिका अध्यक्ष सरोज एभेङले बताउनु भयो । ‘कोभिसिल्ड लगाएका बाहेकका सबै नागरिकलाई दोस्रो मात्रा पनि दिने प्रयत्न गरेका छौं,’ उहाँले भन्नुभयो, ‘यो गाउँपालिकाका सदरमुकाम फुङलिङमा व्यवसाय गर्ने, पढ्नेहरूलाई पनि त्यहीँ केन्द्र तोकेर लगाइदिएका छौं ।’ कान्तिपुर अनलाईन

Facebook Comments