Sat. May 18th, 2024

ओलम्पिकमा ३० जोडी एउटै परिवारका दाजुभाइ दिदीबहिनीले प्रतिस्पर्धा गर्दै

काठमाण्डौं, २०७८ साउन १८ गते सोमबार । हाल जारी २०२० टोकियो ओलम्पिकमा एउटै परिवारका ३० जोडी दाजुभाइ र दिदीबहिनीहरुले प्रतिस्पर्धा गरिरहेका छन्, जसमध्ये केही पदक पनि हात पारिसकेका छन् ।

यसअघि जापानका दाजु बहिनीको जोडीले एकै दिन जुडोमा स्वर्ण पदक हासिल गर्दै सबैलाई आश्चर्यमा पारेका थिए । त्यस्तै बिहीबार क्रोएसियाका दाजुभाइ मार्टिन सिनकोभिक र भेलेन्ट सिन्कोभिकले पनि पुरुषतर्फको ‘रोइङ’ खेलमा स्वर्ण जितेका हुन् ।
यता, अमेरिकाबाट पनि सात जोडी र बेलायतबाट नौ जोडी त्यस्ता एकै परिवारका दाजुभाइ दिदीबहिनीले सहभागिता जनाएका छन् ।

बेलायतका जुडुवा दिदीबहिनी जेनिफर र जेसिकाले जिम्न्यास्टिकमा ब्रोन्ज प्राप्त गरिसकेका छन् । उनीहरु नेदरल्यान्ड र इटलीका आफूजस्तै अर्का दुई जुडुवा दिदीबहिनीको जोडीसँग पनि प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै क्रोएसियाका दाजुभाइले पनि ‘सेलिङ’ मा टर्कीका दाजुभाइको जोडीसँग खेल्नेछन् ।

यसरी विश्वभर विभिन्न देशबाट एकै परिवारका सदस्यहरुले खेलमा प्रतिस्पर्धा जनाउँदैछन् जसले उनीहरुको रगतमै ‘खेलाडी’ को शीप छ भन्ने भनाइ पनि चर्चामा ल्याइरहेको छ ।

फ्रान्सका जुडुवा स्वीमिङमा अब्बल छन् भने अष्ट्रियाका दिदीबहिनी ‘डुएट सिन्क्रोनाइज्ड स्वीमिङ’मा र अष्ट्रेलियाका दिदीबहिनी जोडी पनि विभिन्न खेलमा सहभागी छन् ।

स्पेनको पुरुष बास्केटबलतर्फका दाजुभाइ पाउ र ग्यासोलले तीनवटा एनबीए टाइटल हासिल गरिसकेका छन् । न्युजिल्यान्डका दाजुबहिनी जोडीले पनि आफ्नो क्षेत्रको खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

कसरी हुन्छ यस्तो ?
यसको स्पष्ट जवाफ कसैसँग छैन । तर, यी मध्ये धेरै खेलाडीहरुले आफ्नो जीवन यात्राबारे बताउँदा आफ्ना दाजु, भाइ या दिदी, बहिनीबाट प्रेरित भएर नै खेलप्रति रुची जागेको र मैदानमा खेल्न सुरु गरेको बताउने गरेका छन् । त्यस्तै कतिपयका चाहिँ अभिभावक नै पूर्वखेलाडी हुने हुँदा छोराछोरीलाई सानैदेखि प्रशिक्षण दिने गरेको पनि पाइएको छ । सीएनएन 

Facebook Comments