Sat. May 4th, 2024

कोभिड-१९ को उद्गम सम्बन्धि वैज्ञानिक अनुसन्धानमा राजनीतिकरण नहोस्

काठमाण्डौं, २०७८ साउन १८ गते सोमबार ।

-डा.सर्वोत्तम श्रेष्ठ

अहिले चीनमा एउटा हस्ताक्षर संकलन अभियान जोडतोडले चलिरहेको छ । त्यो के हो, केही समयअघि विश्व स्वास्थ्य संगठनले नविन कोरोना भाइरसको उत्पत्ति, उद्गमबारे गर्ने भनेको दोस्रो चरणको अनुसन्धानको राजनीतिकरण भएको विरोधमा सो सम्बन्धमा अमेरिकाको मेरिल्याण्डमा रहेको फोर्ट डेट्रिक प्रयोगशालाको पनि अनुसन्धान गर्नुपर्ने मागको हस्ताक्षर संकलन अभियान । अहिलेसम्म उक्त मागमा हस्ताक्षर गरि समर्थन जनाउने चिनियाँ इन्टरनेट प्रयोगकर्ताहरुको संख्या दुई करोड नाघि सकेको छ ।

सन् २०१९ को अन्त्यमा चीनको उहान शहरमा कोभिड १९ को पहिलो महामारी भएपछि केही वैज्ञानिकहरु तात्कालिन अमेरिकी राष्ट्रपतिले त्यो भाइरस उहान शहरमा रहेको भाइरस अनुसन्धान केन्द्रबाट आकस्मिक रुपमा निस्केको हुन सक्ने आशंका गरेका थिए । सन् २०२० को प्रारम्भमा विश्व स्वास्थ्य संगठनले संयोजन गरेको २० भन्दा बढी स्वतन्त्र भाइरस विशेषज्ञहरुको टोलीले उहानमा पुगेर भाइरसको उत्पत्ति, उद्गमबारे अनुसन्धान गरेको थियो । उनीहरुले बुझाएको ३ सय १३ पेजको प्रतिवेदनमा (१) नविन कोरोना भाइरसको ACE रिसेप्टर र प्रोेटिनेज जनावरहरुमा भेटिएको भाइरसमा पनि प्राकृतिक रुपमा रहेको (२) प्रयोगशालामा नविन कोरोना भाइरससँग धेरै मिल्ने भाइरस र कुनै भाइरसलाई सम्पादन गरि नविन कोरोना भाइरस बनाउन मिल्ने जीन अंश नभेटिएको, र (३) प्रयोगशालाको सुरक्षा व्यवस्था कडा भएको तथा प्रयोगशालाका वैज्ञानिक कर्मचारिहरुको स्वास्थ्य परीक्षण रिपोर्टमा कतै नविन कोरोना भाइरसको उपस्थिती नभएको यी तीन आधारमा सो भाइरस प्रकृतिबाटै आएको र जनावरबाट मानिसमा सरेको भन्ने निष्कर्ष निकालिएको थियो । प्रयोगशालाबाट भाइरस आकस्मिक रुपमा बाहिर पुगेको भन्ने सम्भावना बारे ४ पेज मात्र छलफल गरि त्यसको सम्भाव्यता अति न्यून रहेको भन्ने लेखिएको थियो ।

नविन कोरोना भाइरसबारे अनुसन्धान गरिरहेका पश्चिमा देशहरुका वैज्ञानिकहरुले डेढ वर्ष लामो आफ्नो अनुसन्धानबाट भाइरस प्रयोगशालाबाट आकस्मिक रुपमा बाहिर पुगेको भन्ने हुनै नसक्ने(असम्भव) भन्ने प्रमाण कसैसँग नभएको र विश्व स्वास्थ्य संगठनको संयोजनमा गरिएको पहिलो पटकको अनुसन्धानमा उक्त सम्भावनाबारे गम्भिरतापूर्वक अन्वेषण र छलफल नगरिएको हुँदा दोस्रो पटक अनुसन्धान गर्न आवश्यक रहेको मत राख्दै आएका थिए । उनीहरुको यस्तो मतलाई प्रयोग गरि अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२१ मे २६ मा अमेरिकी अनुसन्धान निकायलाई सो सम्बन्धि अनुसन्धान गरी ९० दिनभित्र रिपोर्ट बुझाउन आदेश दिनुभएको थियो । अमेरिकाकै दबाबमा परेर होला विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले पनि छिट्टै उहानबाट भाइरस उत्पत्ति भएकोे बारे दोस्रो पटक अनुसन्धानको योजना सार्वजनिक गर्नुभयो ।

उक्त योजना सार्वजनिक भएदेखि चीनले औपचारिक रुपमा यो चीनलाई बदनाम गर्ने राजनीतिक षडयन्त्र हो भन्दै आएको छ । विश्व स्वास्थ्य संगठनले त्यसका महत्वपूर्ण सदस्य राष्ट्रहरुसँग आवश्यक सरसल्लाह नगरी एकतर्फी निर्णय गरेकोमा पनि चीनले असन्तोष व्यक्त गर्दै आएको छ । चीन सरकारले आफ्नो धारणा सार्वजनिक गरेपछि चिनियाँ इन्टरनेट प्रयोगकर्ताहरुले हस्ताक्षर संकलन अभियान चलाई नविन कोरोना भइरस निस्केको हुनसक्ने अमेरिकाको फोर्ट डेट्रिक प्रयोगशालामाथि पनि सम्बन्धित अनुसन्धान हुनुपर्ने माग राखेका छन् ।

वैज्ञानिक विषयवस्तुहरुमा एकपटक निस्केको परिणाम अथवा स्थापित भईसकेको सिद्धान्तमाथि शंका गरी पुनःपरीक्षण अनुसन्धान गर्न पाईदैन भन्ने कुरा मान्य हुन सक्दैन तर कुनै वैज्ञानिक विषयबस्तुमाथि गरिने पुनः अनुसन्धान राजनीतिक अभिप्रायबाट निर्देशित भने हुनुहुँदैन । त्यसैले हामी नविन कोरोना भाइरसको उद्गम सम्बन्धि अनुसन्धान विशुद्ध रुपमा वैज्ञानिक होस्, त्यसमा कुनै राजनीतिकरण नहोस् भन्ने चाहान्छौं । यसै सम्बन्धमा वैज्ञानिक अनुसन्धानमा हुन सक्ने राजनीतिकरण र त्यसबाट अन्तराष्ट्रिय समुदायमा आउन सक्ने फुटको विरोधमा चीनको एक गैह्रसरकारी संस्थाले प्रस्तुत गर्न लागेको संयुक्त विज्ञप्तिपत्रमा अरनिको समाजले आफ्नो समर्थन पनि जनाईसकेको छ ।

(डा.सर्वोत्तम श्रेष्ठ वरिष्ठ न्यूरोलोजिष्ट तथा अरनिको समाजका निवर्तमान अध्यक्ष हुनुहुन्छ ।)

Facebook Comments