Fri. Sep 20th, 2024

तेल ट्याङ्करमा भएको घातक आक्रमणमा इरान संलग्न भएको इजरायलको आरोप

काठमाण्डौं, २०७८ साउन १६ गते शनिबार । इजरायलले एक ब्रिटिश र अर्का रोमेनियाली नागरिकको ज्यान जानेगरी तेल ट्याङ्करमा भएको आक्रमणमा इरान संलग्न भएको आरोप लगाएको छ।

लन्डन मुख्यालय रहेको कम्पनी जोडिआक मेरिटाइमले सञ्चालन गरेको एमभी मर्सर स्ट्रीट नामक ट्याङ्कर ओमानको तटीय क्षेत्रबाट अरब सागरतर्फ गइरहेको बेला बिहीबार उक्त घातक घटना भएको थियो।

इजरायलका पानीजहाज उद्यमी एआल ओफरको उक्त कम्पनीले के भएको हो पत्ता लगाउन काम गरिरहेको जनाएको छ। तर इजरायलका विदेशमन्त्री याइर लापिडले “इरानी आतङ्कवाद” लाई आरोप लगाउनु भएको छ ।

“इजरायलका लागि मात्रै समस्या होइन,” एउटा विज्ञप्तिमार्फत् उहाँले भन्नुभयो, “विश्व मौन बस्नुहुँदैन।”

इजरायली विदेशमन्त्रीले त्यसको कडा प्रत्युत्तर दिनुपर्ने बताउनु भएको छ। उहाँले आफू ब्रिटिश समकक्षीसँग सम्पर्कमा रहेको भन्दै यो मुद्दा संयुक्त राष्ट्रसङ्घमा पनि प्रवेश गराउने जनाउनु भएको छ ।

तर लाइबेरियाको झण्डासहितको उक्त जापानी स्वामित्वको तेल ट्याङ्करमा भएका हमलाको विस्तृत विवरण अझै आइ‍सकेको छैन। इरानले आफूमाथिका आरोपबारे प्रतिक्रिया जनाएको छैन।

एउटा इरानी अरेबिक टेलिभिजन स्टेशनले नाम नखुलेको स्रोतलाई उद्धृत गर्दै उक्त आक्रमण इरानको साझेदार सिरियाको विमानस्थलमा इजरायलले गरेको आक्रमणको प्रतिशोध भएको उल्लेख गरेको छ।

सो आक्रमण उक्त क्षेत्रमा तनाव वृद्धि गर्ने गम्भीर घटनाका रूपमा देखिन्छ र कतिपय विवरणमा ड्रोनको प्रयोग भएको उल्लेख गरिएको छ।  यूके सरकारका प्रवक्ताले तत्कालै वास्तविकता पत्ता लगाउने प्रयास गरिरहेको जनाएको छ। बीबीसी

Facebook Comments