Sat. May 4th, 2024

विप्लव नेतृत्वको नेकपाद्वारा भ्रष्टाचारहरुमाथि जनकारवाही सञ्चालन गर्ने घोषणा

काठमाण्डौं, २०७८ साउन ८ गते शुक्रबार । विप्लव नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी इलामले स्थानीय तहमा व्याप्त भ्रष्टाचार विरुद्ध जनकारवाही गर्ने भएको छ ।

मंगलबार र बुधबार भएको पार्टीको जिल्ला समितिको निर्णय सार्वजनिक गर्न शुक्रबार इलाममा आयोजित पत्रकार सम्मेलनमा नेकपाले भ्रष्टाचारहरुमाथि जनकारवाही संचालन गर्ने घोषणा गरेको हो ।

स्थानीय तहमा देखिएको चरम भ्रष्टाचार, सरकारी योजनामा विद्यमान चरम आर्थिक अपचलन र भ्रष्टाचारको विरुद्ध भण्डाफोर गर्दै जनसहभागितामा जनअनुमोदित जनकारवाही गर्ने निर्णय भएको सो पार्टीका केन्द्री सदस्य एवम् इलाम जिल्ला इन्चार्ज सुमनसिंले बताउनु भयो ।

‘पछिल्लो समय स्थानीय तह र सरकारी योजनामा व्यापक भ्रष्टाचार भएको सूचना हामीलाई आइरहेको छ’ इन्चार्ज सुमनसिंहले भन्नुभयो, ‘तिनीहरुलाई जनताकै व्यापक संलग्नतामा सडकमा घिसारेर कारवाही गर्छौं ।’

दुई दिन संचालन भएको बैठकले एमसीसी परियोजनाको भण्डाफोर गर्ने, एनसेलको कर हिनामिनाको विषयमा सशक्त संघर्ष गर्ने, छिमेकी मुलुक भारतले अतिक्रमण गरेका भूभागमा अतिक्रमण विरुद्ध जनतालाई संघर्षमा उतार्न पहल गर्ने, सीमा क्षेत्रको सुरक्षाको निम्ति प्रशासन राजनीतिक दल र आम जनसमुदायसँग सहकार्य गर्ने निर्णय गरेको छ।

त्यस्तै सहिद परिवार, वेपत्ता परिवार, घाइते, अपाङ्ग र परिवर्तनकारी आन्दोलनका योद्धाहरुलाई सम्मान गर्ने, नमुना कम्युनिष्ट समाजघर निर्माण गर्नेलगायत १५ वटा निर्णय गरेको छ ।

सो पार्टीले नेपालमा संसदीय व्यवस्था पूर्ण रुपले पतन भइसकेको बताउँदै वैज्ञानिक समाजवादका लागि जनमतद्वारा फैसला लिन प्रस्ताव अगाडि सारेको बताउनु भयो । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारसँग ३ बुँदे सहमति गरेर शान्तिपूर्ण राजनितिमा आएको नेकपाले इलाममा पनि आफ्नो गतिविधि बढाएको छ ।

Facebook Comments