Fri. May 3rd, 2024

चीनका राष्ट्राध्यक्ष सी चिनफिंगद्वारा तिब्बतको भ्रमण

काठमाण्डौं, २०७८ साउन ८ गते शुक्रबार । चीनका राष्ट्राध्यक्ष सी चिनफिंगले चीनको तिब्बत स्वायत्त प्रदेशको नियङछी शहरको भ्रमण गर्नुभएको छ। चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव समेत रहनु भएका सी बुधबार नियङछी मेनलिंग एयरपोर्ट पुग्नु भएको थियो । सो एयरपोर्टमा स्थानीय वासिन्दा र विभिन्न जातीय समूहका अधिकारीहरूले उहाँलाई भव्य स्वागत गरेका थिए ।

यसपछि उहाँले यारलुंग जांगबो नदी र यसको सहायक नियङ नदीको पर्यावरणीय संरक्षणको निरीक्षण गर्न भ्रमण गर्नु भएको थियो । राष्ट्राध्यक्ष सीले सोही दिन दिउँसो शहरी विकास केन्द्र, ग्रामीण पुनरुद्धार, सहरी पार्क निर्माण र अन्य कामका बारे जान्न शहरी योजना केन्द्र, एउटा गाउँ र पार्क भ्रमण गर्नुभयो।

बिहीबार, उहाँ नियङछी रेलवे स्टेशन जानु भयो र सछुआन-तिब्बत रेलवेको समग्र योजना र ल्हासा-नियङछी खण्डको निर्माण र संचालनको निरीक्षण गर्नुभयो। त्यसपछि उहाँ केही समय पहिले मात्र सञ्चालनमा आएको रेल चढेर तिब्बतको राजधानी ल्हासा पुग्नु भएको थियो । तिब्बतको राजधानी ल्हासादेखि नियङछी सहरसम्म पहिलो पटक रेल सेवा सुरू भएको हो । उक्त रेल प्रतिघन्टा १६० किलोमिटरका गतिमा कुद्ने बताईएको छ । सो रेलमार्गमा ४७ ठाउँमा टनेल बनाइएको छ भने १ सय २१ वटा पुलहरू निर्माण गरिएका छन्। ल्हासा-निङ्चीको ४ सय ३५ किलोमिटर दूरी पार गर्न रेललाई ३ घन्टा २९ मिनेट लाग्छ।

सिन्ह्वा समाचार समितिका अनुसार राष्ट्राध्यक्ष सी तिब्बतको शान्तिपूर्ण मुक्तिको ७०औं वार्षिकोत्सव मनाउने क्रममा त्यहाँ पुग्नु भएको हो । सीआरआई

Facebook Comments