Thu. May 16th, 2024

आज साउने सङ्क्रान्ति, धार्मिक विधि अनुसार लुतो फाल्ने दिन

काठमाण्डौं, २०७८ साउन १ गते शुक्रबार । आज साउने  सङ्क्रान्ति । स्नान, दान एवं आफन्त जम्मा भइ रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ ।

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेषरुपमा मनाइन्छ ।

साउन महिनाको पहिलो दिन लुतो फाल्ने प्रचलन छ । भलायो, आरुको बियाँ, धसिङ्गरे, कुरिलो, उखुको पातलगायतका सामग्री नाङ्ग्लामा राखेर सालको काठको अगुल्टो बालेर धुवाँ बनाउँदै हुइँक्याउने गरिन्छ । लुतो फाल्दा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । असार महिनामा धेरैजसो खेतीमा व्यस्त हुने हुँदा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् डाक्टर रामचन्द्र गौतमले बताउनुभयो ।  बर्खायाममा हिलो, झरी हुने र यो समयमा फोहोरमैला बढी हुने भएकाले छाला चिलाउने समस्या बढी देखिन्छ । त्यसैले साउन १ गते अर्थात् साउने सङ्क्रान्तिमा परम्परागत पद्धतिबाट लुतो फाल्ने प्रचलन चलेको हो ।

महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको पनि देखाउने गरिएको छ । साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ ।

Facebook Comments