Fri. May 3rd, 2024

युरोकपको उपाधिका लागि इंग्ल्याण्ड र इटाली आमनेसामने

काठमाडौं, २०७८ असार २७ गते आईतबार । जारी १६ औं संस्करणको युरोकप फुटबलको फाइनल खेल सोमबार मध्यराति इंग्ल्याण्ड र इटालीबीच युरोकपको उपाधिका लागि प्रतिस्पर्धा हुदैछ ।

वेम्बली स्टेडियमा आज इंग्ल्यान्ड र इटालीबीचको फाइनल खेल मध्य राति १२ः४५ बजे सुरु हुनेछ ।

चौंथो पटक युरोकपको फाइनल खेल्न लागेको इटाली र पहिलो पटक युरोकपको फाइनल खेल्न लागेको इंग्ल्याण्डबीचको हुने फाइनल खेल निकै रोमान्चक र प्रतिस्पर्धात्मक हुने विश्वास गरिएको छ ।

जारी विश्वकपको समूह ‘डी’ मा रहेको इंल्याण्डले पहिलो खेलमा क्रोएसियालाई १-० ले हराएको थियो भने दोस्रो खेलमा स्कटल्याण्डसँग गोलरहित बराबरी खेल्दै तेस्रो खेलमा चेक रिपब्लिकलाई १-० ले पराजित गर्दैै नकआउटमा पुगेको थियो ।

नकआउटमा चरणमा जर्मनीलाई २-० ले हराउदै क्वाटरफाइनल पुगेको इंग्ल्याण्डले युक्रेनमाथि क्वाटरफाइनलमा ४-० को फराकिलो गोल अन्तरले जित हात पार्दै सेमिफाइनल पुगेको थियो । सेमिफाइनलमा डेनमार्कलाई २-१ ले पाखाँ लगाउदै इंग्ल्याण्ड जारी युरोकपको फाइनलमा पुगेको हो ।

यस्तै, समूह ‘ए’ मा रहेको इटालीले पहिलो खेलमा टर्कीलाई ३-० ले हराएको थियो भने दोस्रो खेलमा स्विजरल्याण्डलाई ३-० गोल अन्तरले र समूह चरणको अन्तिम खेलमा वेल्सलाई १-० ले पराजित गर्दै शतप्रतिशत नतिजासँगै नकआउट चरणमा पुगेको थियो ।

नकआउट चरणमा अष्ट्रियामाथि २-१ को जित हात पार्दै क्वाटरफाइनलमा स्थान बनाएको इटालीले सेमिफाइनल पुग्नका लागि फिफा वरियताको शीर्ष स्थानमा रहेको बेल्जियमलाई २-१ ले हराउदै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

सेमिफाइनलमा दाबेदार मानिएको बलियो टोली स्पेनलाईलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउदै फाइनलमा पुगेको इटाली उपाधि जित्ने दाउमा रहेको छ ।

इंग्ल्याण्ड र इटालीबीच हालसम्म २७ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा इटालीले ११ र इंग्ल्यान्डले ८ खेलमा जित निकालेका छन् भने ८ खेल बराबरीमा सकिएको छ । एजेन्सी 

Facebook Comments